उपत्यकामा एक हप्ताका लागि थपियो निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि १ हप्ताका लागि निषेधाज्ञा थपिएको छ।
३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको संयुक्त बैठकले भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन्।
निषेधाज्ञा थप्नुअघि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रायलसँग छलफल गरेका थिए।
बुधबार बसेको तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीचको बैठकले निषेधाज्ञा एक हप्ता थपेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेकाले एक साता निषेधाज्ञा जरुरी रहेकोले थपिएको बताईएको छ।
तर, यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ। के के सेवालाई सञ्चालनका लागि छुट दिइयो भन्नेबारे सिडिओहरुले संयुक्त विज्ञप्ति मार्फत जानकारी दिनेछन्।
यसअघि निषेधाज्ञामा अत्यावश्यक सेवाहरु सञ्चालन गर्न सकिने जनाइएको थियो।
नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्ने भनिएको थियो।
होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन्।
उपत्यकामा गएको ३ गते रातिदेखि लागू भएको लकडाउन बुधबार राति १२ बजेदेखि सकिने भएपछि फेरि एक हप्ता थपिएको हो।