केपी ओली कम्युनिष्ट पार्टीको कुपात्र हुन् : अध्यक्ष नेपाल
ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले केपी ओली कम्युनिष्ट पार्टीको कुपात्र भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
अध्यक्ष नेपालले पार्टीको गोदावरी नगर कमिटि गठन कार्यक्रममा पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीको स्मरण गर्दै एमाले अध्यक्ष ओलीलाई यस्तो भनेका हुन् ।
कार्यक्रमका अर्का अतिथि स्वास्थ्य मन्त्री बिरोध खतिवडाले राष्ट्रपति केपी ओलिको कारिन्दा जस्तो बने पछि आफूहरु अदालत जानु परेको बताए । आउँदो चुनावमा गठबन्धनले नै चुनाव लड्ने पनि उनले खुलासा गरे ।
झण्डै दुई तिहाइको बहुमतसहित बालुवाटार छिरेका केपी ओली आफ्नै मतिका कारण बालुवाटारबाट बालकोटको बारदली हुँदै अहिले नारायणीको बगरमा पुगेको र अबको उनको यात्रा पनि बगरकै रहेको मन्त्री खतिवडाले जिकिर गरे ।
गोदावरी नगर कमिटीको घोषणा सभाले ठाकुर घिमिरेको अध्यक्षतामा नगर कमिटि गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा पूर्ण तण्डुकार र सजना महर्जन, सचिवमा राजन महर्जन रहेका छन् ।
कार्यक्रममा अध्यक्ष माधव कुमार नेपाल, स्वास्थ्य मन्त्री बिरोध खतिवडा, बागमति प्रदेशका सांसद माधव प्रसाद पौडेल, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख निर्मला थापा, केन्द्रीय कमिटि सदस्य अमृतनाथ तिमल्सिनालगायतको उपस्थिति रहेको थियो ।