सिन्धुपाल्चोककी १९ वर्षीया करिना लोकप्रिय मतसहित कांग्रेसको महाधिवेशन प्रतिनिधिमा विजयी

काठमाडौ– सिन्धुपाल्चोककी १९ वर्षीया किशोरी करिना पुरी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित विजयी भएकी छिन्।

उनले जिल्लामा लामो समय राजनीति गरेका हस्तीहरुलाई समेत उछिनेर महाधिवेशन प्रतिनिधि हुन सफल भइन्। महिला खुल्लातर्फ चार जना प्रतिनिधिका लागि सात जना प्रतिस्पर्धी थिए। उमेर र राजनीतिक अनुभवका हिसाबले अन्य उम्मेदवार उनीभन्दा अनुभवी थिए। तर, उनले सबैभन्दा धेरै मत पाइन् । उनी कांग्रेसका ‘हस्ती’ नेताहरूलाई पछि पार्दै महाधिवेशन प्रतिनिधि बन्न सफल भएकी हुन्।

महाधिवेशन प्रतिनिधिका लागि आइतबार भएको चुनावमा करिना सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–२ बाट विजयी भएकी हुन्। कांग्रेसको निर्वाचनमा पहिलो पटक उठेर उनी महाधिवेशन प्रतिनिधि हुन सफल भएकी हुन्।

खुलातर्फ महिला क्लस्टरमा उम्मेदवार बनेकी उनले ४०९ मत ल्याएर महाधिवेशन प्रतिनिधि बनिन्। उनले पाएको मत सबैभन्दा धेरै हो।

अन्य क्लष्टरमा उम्मेदवार भएका कांग्रेसका हस्तीहरु पराजित हुँदा अहिले उनको चर्चा चुलिएको छ। महाधिवेशन प्रतिनिधिमा पूर्व क्षेत्रिय अध्यक्ष बद्रीप्रसाद चौलागाईं, पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, कांग्रेस जिल्ला सह–सचिव अनुप न्यौपानेसमेत पराजित भएका छन्।

नेविसंघबाट भर्खरै राजनीति सुरुवात गरेकी करिना कराँते खेलाडीसमेत हुन्। कानुन विषयमा स्नातक अध्ययनरत उनी विद्यार्थी राजनीतिमा पनि सक्रिय छिन्। आफ्नो गाउँ गएर निर्वाचनमा उम्मेदवार बनेको भने पहिलो पटक हो।

महाधिवेशन प्रतिनिधि बन्न पुराना नेताले नै चाहना राख्ने हुँदा उनलाई मुस्किल थियो। तर, उनले हिम्मत गरिन्। आफ्नो विचार स्पष्ट राखिन्। शुरुमा क्षेत्रीय प्रतिनिधिमा निर्विरोध भएपछि उनलाई आत्मविश्वास आयो।

‘मलाई मेरो अभिभावक र साथीहरुले महाधिवेशन प्रतिनिधिको तयारीमा लाग्न हौसाए,’ उनले भनिन्, ‘तयारी गर्दै गएँ, तर कतिपय अग्रजहरुले यसपालि निर्वाचनमा उम्मेदवार नबन्न पनि दबाब दिएका थिए। मैले त्यो दबाब पन्छाएँ।’

कराँतेको ब्ल्याकबेल्ट करिनाले इन्डोनेसियामा भएको एसियन गुजोरियो कराँते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन्। मलेसियामा भएको प्रतियोगितामा रजत र कांस्य पदक जितेकी छन्। यस्तै बंगलादेशमा भएको प्रतियोगितामा उनले कांस्य पदक जितेर आफ्नो पहिचान खेल क्षेत्रमा पनि स्थापित गरिसकेकी छन्।

२०५८ माघमा सिन्धुपाल्चोकको मेलम्चीमा जन्मिएकी करिनाले कक्षा १० सम्मको अध्ययन स्थानीय जनता माविबाट गरेकी हुन्। २ कक्षा इन्द्रेश्वरी माविबाट पूरा गरिन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button