आज ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आज ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।
कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका लागि यस वर्ष औपचारिक कार्यक्रम राखेको छैन । तर पनि विभिन्न जिल्लामा नेताहरुले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएका छन् ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ र महामन्त्री विश्वप्रकाश शर्मा पोखराको कार्यक्रममा सहभागी हुँदैछन । त्यस्तै दिवसकै अवसरमा आज कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । यस अवसरमा बिपी सङ्ग्रहालयमा बिपी, गणेशमानलगायतका नेताको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।
नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनको सम्झनामा हरेक पुस १६ गतेलाई ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा कांग्रेसले मनाउँदै आएको छ । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएका थिए ।
तत्कालीन प्रधानमन्त्री वीपी कोइराला लगायतलाई जेल हालियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाएर नेताहरूमाथि देशद्रोहको मुद्दासमेत लगाएका थिए। तर, २०२५ कात्तिक १४ गते वीपी कोइरालालगायतका नेताहरु जेलमुक्त भए । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थालेका थिए ।
२०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए ।
दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेता बिपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।
विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी कोइरालालाई रिहा गरिएको थियो । यसपछि एकपटक सुन्दरीजल बन्दीगृह फर्काइ प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उनलाई बन्दी बनाइएको थियो । चौबीस रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयमा परिणत गरिएको छ ।