निर्वाचनमा कांग्रेसले गठबन्धन गर्नुहुँदैनः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्न नहुने बताएका छन।
उनले पार्टीको बनेपा नगरसमितिद्वारा बुधबार आयोजित बृहत् सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका थापाले आफू निर्वाचनमा गठबन्धन गर्न नहुने मान्यता राख्ने भएकाले केन्द्रीय समितिमा समेत यस्तो धारणा राख्ने बताए।
“पार्टीलाई निर्वाचनमा तालमेल नगर्ने मेरो सिद्धान्तमा ल्याउन प्रयास गर्छु नसके पार्टीको निर्णय मान्छु”, थापाले भने।
उनले भने, “मतदाताले पार्टी बदल्न पाउँछ, तर एउटा पार्टीको भनेर अर्को पार्टीमा मत हाल्नु कदापि हुुँदैन, पाप लाग्छ।” निर्वाचनमा कांग्रेस एक्लैले जितेर देखाउनुपर्ने उनको तर्क थियो। महामन्त्री थापाले आउँदो पाँच वर्ष कांग्रसलाई मत दिन जनतालाई अनुरोध गर्न नेताकार्यकर्तालाई आग्रह गरे। “हामीलाई पाँच वर्ष मत दिएर स्थानीय तह र संसदीय निर्वाचनमा जिताउनुस्, हामी यो यो काम गर्छौं भनेर योजनासहित जनताको जानुपर्छ, हामीले स्थानीय मात्र हैन, प्रदेश र सङ्घमा पनि बहुमत ल्याउनुपर्छ”, उनले भने।