अब कार्डबाट पैसा तिर्दा १० प्रतिशत भ्याट बैंक खाता मै फिर्ता

अब मूल्य अभिबृद्धि कर (भ्याट) तिर्दा दश प्रतिशत रकम फिर्ता पाइने भएको छ । आन्तरिक राजस्व विभागले भ्याट लाग्ने वस्तु वा सेवा खरिद गर्दा त्यसको भुक्तानी विद्युतीय माध्यमबाट गरेमा करको दश प्रतिशत रकम निजको बैंक खातामा फिर्ता गर्ने व्यवस्थाको औपचारिक शुरुवात गरेको हो ।  अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त सेवाको सुरुवात गरेका हुन् । 

हाललाई नेपाल इन्भेष्टमेण्ट बैंकको विद्युतीय भुक्तानी कार्ड प्रयोग गरी भाटभटेनी सुपर मार्केटको त्रिपुरेश्वर शाखा तथा  केकेएफसी न्यू रोड शाखामा यो सेवा सुरु भएको विभागले जनाएको छ। उक्त सेवा उपलब्ध गराउन इच्छुक भई सूचीकृत भएका फोन पे, इसेवा, खल्ती, सेल पे, कनेक्ट आइपीएस जस्ता भुक्तानी प्रणाली संचालक तथा भुक्तानी सेवा प्रदायक संस्थासंग आवद्ध बिक्रेता तथा उपभोक्ताहरुमा समेत लागू गरिएको छ ।

विभागको अनुसार यस्तो प्रणालीगत सुधार गरेका बिक्रेताहरुबाट एक पटकमा १ हजारदेखि १ लाख सम्मको मूल्य अभिबृद्धि कर लाग्ने वस्तु वा सेवाको खरिद गरी विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताहरुले यो सुविधा उपभोग गर्न सक्नेछन्। यो व्यवस्थाले वस्तु वा सेवा खरिद बिक्री गर्दा बिल बीजक लिने दिने बानीमा थप सुधार हुने अपेक्षा विभागले लिएको जनाएको छ  ।

साथै, विभागले  आजैदेखि करदाताहरुको बायोमेट्रिक सूचना दर्ता गर्ने कार्यको समेत शुरु भएको छ ।  जस अन्तर्गत  प्राकृतिक व्यक्तिलाई स्थायी लेखा नम्बर जारी गर्दा, एकल स्वामित्वको फर्मलाई मूल्य अभिबृद्धि करमा दर्ता गर्दा व्यक्तिको बायोमेट्रिक सूचनाहरु लिई अभिलेखको रुपमा राखिने छ । 
कुनै साझेदारी फर्म वा कम्पनीलाई मूल्य अभिबृद्धि करमा दर्ता गर्दा सो निकायको व्यवसायिक सूचनाका अतिरिक्त सो निकायको प्रमुख कार्यकारी व्यक्तिको बायोमेट्रिक सूचनाहरु लिई बायोमेट्रिक दर्ता प्रणालीमा अभिलेख रहने प्रणालीको पनि विकास भएको छ । यो प्रणाली हाल आन्तरिक राजस्व कार्यालय टंगाल र नयाँ सडकबाट प्रारम्भ गरिएको र क्रमश अन्य आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा विस्तार गरिने विभागले जनाएको छ । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button