images
images
  • Latest Update

    Trending

    उपराष्ट्रपति यादव र बंगलादेशका राजदूत चौधरीबीच शिष्टाचार भेट

    काठमाण्डौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसंग नेपालका लागि बंगलादेशका महामहिम राजदूत सलाहुद्दिन नोमान चौधरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    लैनचोरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज (बिहीबार) भएको भेटमा शुभकामना आदान–प्रदानपछि दुई मुलुकबीचको सम्बन्ध, व्यापार, पर्यटन र विद्युत लगायतका विषयमा छलफल भयो । उपराष्ट्रपति यादवले हालका वर्षहरुका दुई देशबीचको व्यापारको मात्रा बढ्दै गएकोमा खुशी व्यक्त गर्दै यो व्यापारलाई थप विस्तार र विविधिकरण गर्ने प्रचुर सम्भावना रहेको बताउनु भयो ।

    ‘तेस्रो देशसंगको व्यापारका लागि चटगाउँ र मोङ्ला बन्दरगाह हुँदै नेपाललाई पारवहन सुविधा उपलब्ध गराएकोमा बंगलादेश सरकारलाई धन्यवाद दिन चाहन्छु ’ उहाँले भन्नुभयो, ‘रोहनपुर–सिंहाबाद रेलमार्गको शीघ्र संचालन यी समुद्री बन्दरगाहहरुबाट पारवहन सहयोग प्रबद्र्धन गर्न महत्वपूर्ण हुनेछ । ’

    उपराष्ट्रपति यादवले नेपालको जलविद्युत क्षमता र बंगलादेशको बढ्दो ऊर्जा आवश्यकताले दुई देशबीच ऊर्जा सहयोग अभिवृद्धि गर्ने पर्याप्त अवसरहरू प्रदान गरेको बताउनु भयो । ‘सन् २०१८ मा नेपाल र बंगलादेशबीच विद्युत क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनु ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगलाई सुदृढ पार्ने महत्वपूर्ण कोसेढुङ्गा हो ’ उहाँले भन्नुभयो, ‘बंगलादेश सरकारले हालै (६ डिसेम्बर २०२३ मा ) भारतको पावर ग्रिड प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्न स्वीकृत गरेकोमा हामी खुसी छौं ।’

    उहाँले उर्जा क्षेत्रमा बंगलादेशको लगानीलाई नेपालले स्वागत गरेको जनाउँदै नेपालको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट ५०० मेगावाट बिजुली आयात गर्न बंगलादेश र भारतको जीएमआरबीच भइरहेको वार्ता र सुनकोशी–३ आयोजनामा संयुक्त लगानीसम्बन्धी बंगलादेशको प्रस्ताव उत्साहजनक रहेको पनि बताउनु भयो । ‘म विश्वस्त छु कि यी परियोजनाहरूको कार्यान्वयन नेपाल र बंगलादेश दुवैका लागि पारस्परिक रूपमा लाभदायक हुनेछ ’ उहाँले भन्नुभयो, ‘नेपाल र बंगलादेशमा प्राकृतिक सौन्दर्य, समृद्ध सभ्यता र सांस्कृतिक सम्पदा, साहसिक खेलकुद र जैविक विविधता देखाउने धेरै लोकप्रिय पर्यटकीय गन्तव्यहरू छन् । बंगलादेश नेपालका लागि पर्यटकको महत्वपूर्ण स्रोत देश पनि हो ।’

    ‘म हाम्रा दुई देशबीच सांस्कृतिक सहयोग र  जनताबीचका सम्पर्क प्रवर्द्धन गर्न जनवरी १९७८ मा भएको सांस्कृतिक सम्झौताको स्मरण गर्न चाहन्छु ’ नेपाल र बंगलादेशबीच घनिष्ट सांस्कृतिक सम्बन्ध र जनस्तरका सम्पर्कहरू रहेको बताउँदै उपराष्ट्रपति यादवले भन्नुभयो, ‘ सन् १९७६ अप्रिलमा हाम्रा दुई देशबीच हस्ताक्षर भएको प्राविधिक सहयोग सम्झौताअन्तर्गत नेपाली विद्यार्थीहरूलाई वार्षिक २२ छात्रवृत्ति (१९ एमबीबीएस र ३ बीडीएस) उपलब्ध गराएकोमा म बंगलादेश सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

    उपराष्ट्रपति यादवले नेपाल र बंगलादेशले सार्क, बिमस्टेक, संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन, जी ७७ र चीन लगायतका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा पारस्परिक हितका विषयमा सहकार्य गर्दै आएकोमा खुशी व्यक्त गर्नुभयो । ‘हाम्रा दुई देशले संयुक्त राष्ट्र संघ र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूमा एकअर्काको उम्मेदवारीलाई समर्थन गरिरहेका छन् । आगामी दिनमा पनि यो सहकार्य जारी रहने विश्वास लिएको छु ’ उहाँले भन्नुभयो, ‘एक मित्र राष्ट्रका नाताले नेपालले बंगलादेशसँगको सम्बन्धलाई उच्च महत्व दिन्छ । आगामी दिनहरूमा हाम्रा दुई देश र जनताबीचको सम्बन्ध अझ प्रगाढ हुनेमा म विश्वस्त छु ।’

    नेपालका लागि बंगलादेशका महामहिम राजदूत सलाहुद्दिन नोमान चौधरीले नेपाल र बंगलादेशबीचको सम्बन्ध व्यापार, पर्यटन, शिक्षा र ऊर्जा लगायत केही आयामहरुमा आधारित रहेको उल्लेख गर्दै हरेक वर्ष तीस हजार बंगलादेशी पर्यटक नेपाल आउने गरेको बताउनु भयो । उहाँले दुई देशबीच मोडरेट ट्रेडको सम्बन्ध रहेको पनि बताउनु भयो ।

    बंगलादेशले नेपाली विद्यार्थीका लागि चिकित्सा शास्त्र लगायतका विषयमा छात्रवृत्ति उपलब्ध गराउँदै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘हरेक वर्ष छात्रबृत्तिसंगै सेल्फ फाइनान्समा पाँच सय देखि छ सय विद्यार्थी बंगलादेशमा एमबीबीएस गर्न जान्छन् । हाल बंगलादेशमा चार हजारदेखि पाँच हजार नेपाली विद्यार्थी अध्ययनरत छन् ।’राजदूत चौधरीले हाल नेपाल र बंगलादेशबीच १० करोड अमेरिकी डलरको व्यापार हुनेगरेको जनाउँदै ४० मेगावाट विद्युतका लागि दुई देशबीच केही दिनभित्रै सम्झौता हुने बताउनु भयो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्