images
images
  • Latest Update

    Trending

    छानो हाल्दा पानी सुक्ने अन्धविश्वासले प्रदुषित बन्दै बालकोटको विशाल कुँवा

    बालकोट, रमादेवी सापकोटा । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट स्थित खल्पिटारमा अवस्थित कुवामा जड्याहादेखि लिएर बालबालिकाहरु पटक पटक खसेर उद्धार गर्ने गरिन्छ । नेवारी भाषामा ‘निरबुगा’ नामले चिनिने यस कुँवामा नाग रिसाएर अनिष्ट हुने विश्वासले स्थानीयहरुले न त छानो हाल्न दिन्छन् न त डोरी लगाएर पानी तान्न नै अनुमति दिन्छन ।

    ६ फिट गहिराई, ७ फिट लम्बाई र ५ फिट चौडाइमा २०११ सालमा निर्मित यस कुवामा नाइलन लगायतका डोरी लगाउन नमिल्ने भएपछि पानीको सतह घटेको अवस्थामा भाडोमा सल, टाइ तथा विभिन्न मैला कपडा समेत लगाएर पानी उभाउदा थप अर्को तरिकाले पानी प्रदुषित बनिरहेको छ ।

    खुल्ला भएकोले बेलाबेलामा बालबालिकाहरु खानेकुरादेखि विभिन्न वस्तुहरु खसालेर कुँवाभित्रका माछासँग खेल्न आउने उपभोक्ताहरुले गुनासो गर्छन । यदि पानी निकाल्ने भाडामा डोरी लगाइयो भने नाग देवता रिसाउने र पानी सुक्ने याँहाका स्थानीयको विश्वास छ ।

    स्थानीय चन्द्रकृष्ण श्रेष्ठले ३५ बर्ष जति अघि एक पटक कुँवामा छानो लगाउदा पानी नै सुकेर गएको बताए । “डोरी लगाएर पानी तान्दा, कुवामा छानो हाल्दा र यहाँका माछा मारेर लैजादा नाग रिसाएर अनिष्ट हुन्छ” श्रेष्ठले भने, “मेरो हजुरबाकै पालादेखि यी कुराहरुमा प्रतिबन्ध लगाइएको छ त्यसैले हामी पनि यसो गर्न दिदैनौ ।”

    छानो नराखिकन पम्प लगाउने, वरिपरि बारेर गेट बनाउने जस्ता अन्य वैकल्पिक तरिकाले भने मर्मत सुधार गर्न सकिने श्रेष्ठको धारणा छ ।
    दुई बर्ष अघिसम्म कुँवा भरिएर बगेर जाने गरेको पानी तर हाल हिँउदमा पनि पानी उत्पादन क्षमता घट्दै गएको छ । विगत दुईबर्षदेखि बर्षायाममा भित्री भाग पट्टिबाट बाह्य धमिलो पानी पस्न थाले पछि कतिपय परिवारले यो पानी पीउन छाडेका छन् यद्यपि अन्य प्रयोजनको लागि भने प्रयोग भइनैरहेको छ ।

    स्थानीय रामकेसरी श्रेष्ठले दैनिक १०० घर परिवार भन्दा बढीले यस कुँवा को पानी उपभोग गर्ने गरेको देखिन्छ यदि उचित संरक्षण गरिने हो भने अझ धेरै जनसंख्याले पानी उपभोग गर्न सकिने बताइन् । उनले भनिन, “कुँवा धराप अवस्थाको बनावटमा रहेकोले जड्याहाहरु र बालबालिहरु पटक पटक कुवामा खसेर उद्धार गरिएको छ । कुँवा प्रदुषित हुदै गएका कारण याँहाको पानी पीउन छोडेका छौ ।” पानीको उत्पादन क्षमता घट्दा पनि दैनिक १० हजार लिटर जति उपभोग हुने गर्दछ ।

    घरवालाहरुले पानीको व्यवस्थापन नगरिदिदा सबै घरायसी प्रयोजनको लागि याँहाको पानी ओसार्न पर्ने बाध्यता रहेको कतिपय भाडावालाहरुको गुनासो छ । वडा अध्यक्ष प्रदिप कार्कीले यस कुँवा मा उचित संरक्षणको आवश्यक्ता रहेको र स्थानीयले अनुमति दिन्छन् र विकासको माग गर्छन भने आवश्यक बजेट छुट्टयाएर काम गर्न पालिका तयार रहेको बताए । तर अहिलेसम्म कुँवा सुधार निर्माणको माग पालिका समक्ष नआएको उनको भनाई छ ।

    स्थानीय रंजना केसीले केही बालकहरुले कुँवा भित्र पिसाब समेत फेर्ने गरेको भेटिने बताइन् उनले आफूहरु भने अन्धविश्वासलाई मान्यता नदिएर कुवाको संरक्षण र विकास होस भन्ने पक्षमा रहेको र यदि यस्तै अवस्थामा कुँवालाई राखिरहने हो भने प्रदुषित बढ्नुको साथै लोप भएर जान सक्ने समेत खतरा हुनेप्रति चिन्ता व्यक्त गरिन ।

    विगतमा सिरुटार र बालकोटका ठुलो जनसंख्याले पीउने गरेको पानी हाल पनि नजिकका भाडावालहरु, टाढा टाढाका कोही होटलवालाहरु सवारीका साधनमा राखेर समेत ओसार्ने गर्छन । जग्गाधनी राम श्रेष्ठका स्वर्गीय हजुरबाले ३ आना जग्गा कुवाको लागि भनि उनकै पालामा सार्वजनिक गरेर जग्गा प्रदान गरिदिएका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्