images
images
  • Latest Update

    Trending

    हतियारधारीमाथि आक्रामक प्रहरी : ६ महिनामा १४३ पक्राउ, ११६ थान हतियार बरामद

    काठमाडौं महानगरपालिका–७ घर भएका सुलभ भन्ने सुरज श्रेष्ठ १ थान पेस्तोल, ४ राउण्ड गोली र म्याग्जिनसहित पक्राउ परे। भक्तपुर मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट कटुवा पेस्तोल २ थान र सोही पेस्तोलको गोली १ राउण्डसहित उदयपुरका जंगे माझी पक्राउ परे।

    मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट पेस्तोल १ थान र गोली १ थान सहित बाजुराका देव बहादुर थापा र नवलपरासी पूर्वका वीरबहादुर थापा मगर पक्राउ परे।

    श्रेष्ठ, माझी, थापा र थापा मगर प्रतिनिधि पात्र मात्र हुन्। देशभर प्रहरी सक्रियता, आकस्मिक जाँच तथा निगरानीका कारण उनीहरू जस्तै अन्य धेरै व्यक्तिहरू पनि हातहतियार सहित पक्राउ परेका छन्। अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सक्रिय छ।

    चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा देशभर विभिन्न स्थानबाट अवैध हातहतियार सहित १ सय ३४ जना पक्राउ परेका छन्। पक्राउमध्ये पुरूष १ सय ३० जना र महिला ४ जना छन्। तीमध्ये ६ जना विदेशी नागरिक छन्।

    सो अवधिमा काठमाडौं उपत्यकाबाट १७ जना, कोशी प्रदेशबाट १८ जना, मधेस प्रदेशबाट २५ जना, बागमती प्रदेशबाट १३ जना, गण्डकी प्रदेशबाट १४ जना, लुम्बिनी प्रदेशबाट २१ जना, कर्णाली प्रदेशबाट १२ जना र सुदूरपश्चिम प्रदेशबाट १४ जना पक्राउ परेका छन्। साथै अवैध हातहतियार अन्तर्गत जम्मा ९४ मुद्दा दर्ता भएका छन्।

    अवैध हातहतियार नियन्त्रणमा प्रहरी सक्रियताको कारण विभिन्न व्यक्तिहरूलाई हतियार सहित पक्राउ गर्न नेपाल प्रहरी सफल भएको छ। यसबाट हतियारधारी समूह निस्तेज बनेको छ।

    अवैध हतियार नियन्त्रणमा नेपाल प्रहरीको सक्रियताबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल भन्छन्, ‘नेपाल प्रहरीले सूचना संयन्त्रलाई बलियो बनाउँदै काम गरेको कारण हातहतियार कारोबारी र हतियार नियन्त्रणमा लिन सक्नुको प्रमुख कारण हो। सरोकारवाला निकायबीचको सहकार्यले यस कार्यमा थप मद्दत पुगेको छ। हतियारको जोखिमबारे सर्वसाधरणलाई चेतना जगाउन सफल भएपछि अवैध हतियार राखेका व्यक्तिहरूले समेत हतियार प्रहरीमा बुझाएका छन्।’

    विभिन्न सम्भावित ठाउँमा सबै प्रकारका अवैध हतियार नियन्त्रण गर्न विशेष टोली परिचालन गरिएको उनको भनाइ छ। सो अवधिमा पेस्तोल ६ थान, रिभल्वर ४ थान, कटुवा पेस्तोल १७ थान, बन्दुक ६ थान, भरुवा बन्दुक ८१ थान र एयर गन २ थान गरी जम्मा १ सय १६ थान अवैध हतियार बरामद भएको छ।

    सो अवधिमा पेस्तोलको गोली ५३ राउण्ड, रिभल्वरको २२ राउण्ड, कटुवाको १७ राउण्ड, बाह्रबोरको १९ राउण्ड, बन्दुकको २० राउण्ड, भरूवाको ९३ राउण्ड र अन्य ३ राउण्ड गरी जम्मा २ सय २७ राउण्ड गोली बरामद भएको छ।

    बरामदमध्ये काठमाडौं उपत्यकाबाट ७ थान हतियार र १४ राउण्ड गोली, कोशी प्रदेशबाट १८ थान हतियार र १५ राउण्ड गोली, मधेस प्रदेशबाट १४ थान हतियार र ६३ राउण्ड गोली, बागमती प्रदेशबाट १८ थान हतियार र २१ राउण्ड गोली, गण्डकी प्रदेशबाट ९ थान हतियार, लुम्बिनी प्रदेशबाट २५ थान हतियार र ७१ राउण्ड गोली, कर्णाली प्रदेशबाट १३ थान हतियार र ६ राउण्ड गोली तथा सुदूरपश्चिम प्रदेशबाट १२ थान हतियार र ३७ राउण्ड गोली छन्। जसमा भरूवा बन्दुक र कटुवा पेस्तोलको संख्या अन्यको भन्दा बढी छ।

    तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट, जबरजस्ती चन्दा असुली तथा दुर्लभ वन्यजन्तुको शिकारीमा यस्ता हातहतियार प्रयोग भएको देखिन्छ। अवैध हातहतियार नियन्त्रण तथा कारोबारीलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरीले देशभरिनै विशेष अभियान चलाएको प्रहरी नायव महानिरीक्षक ढकालले जानकारी दिए।

    अभियानको प्रभावले आम नागरिकबाट सूचना प्राप्त गर्न सहज भएको र यसबाट अवैध हातहतियार नियन्त्रण गर्न प्रहरीलाई सफलता मिलेको उनको भनाइ छ।

    नियन्त्रणमा लिइएका व्यक्ति तथा हतियार सम्बन्धमा हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान एवं कारबाही हुने गरेको छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्