images
images
  • Latest Update

    Trending

    नेपालमा इन्जिनियरिङ शिक्षाको महत्व बढी छ : उपराष्ट्रपति यादव

    काठमाण्डौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा आज बुधबार इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पसमा क्रियाशील विद्यार्थी संगठन ‘नेपाल तराई विद्यार्थी नवजागरण संघ’ ले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा सहभागि हुनु भएको छ ।

    उहाँले क्याम्पसमा देवी सरस्वतीको पूजा–अर्चनापछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  नेपालकै ऐतिहासिक र इन्जिनियरिङ क्षेत्रमा योग्य एवं सक्षम जनशक्ति उत्पादन गर्ने पुलचोक इन्जिनियरिङ क्याम्पसले आयोजना गरेको सरस्वती पूजाले विद्यार्थीहरुमा ज्ञान, विज्ञान, बुद्धि र असल वाणी तथा व्यवहार विकासमा अतूलनीय सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    ‘वसन्त पञ्चमी तथा सरस्वती पूजाले सम्पूर्ण विद्यार्थीहरुमा आपसी मेलमिलाप, भाइचारा, सदाचार, मैत्रीभाव र वन्धुत्वभावका साथ समाज र देश सेवाका लागि दत्तचित्त भई सदैव अग्रसर हुन उत्प्रेरित गर्न सकोस्’उहाँले भन्नुभयो, ‘आजको दिन तपाईं सम्पूर्ण भाइबहिनीहरुका लागि चारित्रिक, नैतिक, आध्यात्मिक, धार्मिक, सामाजिक, प्राविधिक एवं व्यावसायिक उन्नयन तथा शुद्धिकरण तथा सशक्तिकरणका लागि उच्च अठोट र प्रण लिने अवसर पनि हो ।’

    उपराष्ट्रपति यादवले मुलुकको सुनौलो भविष्य निर्माण गर्न शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह उल्लेख गर्दै भन्नुभयो,  ‘अझ हाम्रो देशको सन्दर्भमा  इन्जिनियरिङ शिक्षाको महत्व र उपादेयता झनै बढी छ । त्यसैले तपाईंहरुले यहाँ आर्जन गरेको सैद्धान्तिक शिक्षा, व्यवहारिक ज्ञान र सीप तथा त्यसपछि तपाईहरुबाट समाज, देश, माटो र मातृभूमिले प्राप्त गर्ने सेवा अमूल्य छ । यो क्षेत्रमा तपाईं सबैले आ–आफ्नो स्तर र स्थानबाट अब्बल योगदान गर्न सक्नु पर्दछ ।’

    उहाँले विद्यार्थीहरुले आफ्नो दक्षता, सीप र कौशलमा प्राज्ञ उत्कृष्टता हासिल गर्दै समुदाय, समाज र देशको हितमा अथक र निर्विकल्प खोजहरु गर्दै अघि बढ्नु आजको आवश्यकता रहेको बताउनुभयो । ‘इन्जिनियरिङ एउटा यस्तो क्षेत्र हो, जहाँ सैद्धान्तिक ज्ञान, सीप, कार्यकौशल र वौद्धिक क्षमता अनिवार्य छ, हुन्छ । योसंगै अटल समर्पण, त्याग र तपस्या पनि उत्तिकै आवश्यक छ ’ उहाँले अगाडि भन्नुभयो, ‘यो क्षेत्र निरन्तर सिक्ने, प्रयोग गर्ने र नवीनताको खोज गर्दै अघि बढ्ने पनि हो । त्यसैले यसप्रति सजग, सचेत र जागरुक हुन नितान्त अनिवार्य छ ।’

    उहाँले नेपाल अन्य विकासोन्मुख मुलुकहरुमा विद्यमान रहेको गरिबी, अशिक्षा, पूर्वाधार विकास र वातावरणीय दिगोपन जस्ता समस्याहरुबाट अछूत नरहेको पनि बताउनु भयो । ‘यी समस्याहरुको निराकरण र निवारण गर्न इन्जिनियरहरुको भूमिका अहम रहेको मैले ठानेको छु । यसका लागि तपाईहरु यथास्थितिलाई चिर्दै सबैखाले चुनौती र समस्याको समाधान गर्न अग्रपंक्तिमा हुनु पर्दछ ’ उहाँले भन्नुभयो, ‘ यो नै समाज र देशको माग पनि हो । समाज र देशको यो अपेक्षालाई तपाईं भविष्यका इन्जिनियर भाइबहिनीहरुले पुरा गर्नु नै हुनेछ भन्ने विश्वास लिएको छु ।’

    उपराष्ट्रपति यादवले सरस्वती ज्ञान विज्ञानको मात्रै अधिष्ठात्री देवी होइनन, काव्य, कला, संगीत आदिको सर्जनको उत्प्रेरक शक्ति पनि भएको बताउनु भयो । ‘उक्त शक्तिका उपासकका रुपमा तपाईंहरुले सोच्दै गर्दा सरस्वतीको वीणाको कर्णप्रिय संगीतलाई इन्जिनियरिङ सेवामा कार्यान्वयनमा ल्याउन सक्नु पर्दछ’ उहाँले भन्नुभयो, ‘ वसन्त पञ्चमीलाई सबै पुण्य कार्यहरुका लागि शुभ मानिन्छ । यो शुभ अवसरलाई सबैले आ–आफ्नो नकारात्मक सोच, विचार र मानसिकता परित्याग गर्दै आफूभित्र सकारात्मकता भर्ने महत्वपूर्ण तिथिका रुपमा मनाउन सक्नुपर्छ । यो वसन्त ऋतुको आगमन हुने दिन पनि भएकाले आफ्नो जीवनमा सदाचार, सचरित्र एवं मेलमिलापको गुण आत्मसात गर्न सक्नु पर्दछ ।’

    उहाँले यस वसन्त पञ्चमीमा गरिने वसन्त श्रवण र सरस्वती पूजाले सिंगो मानव जीवनमा सँधै ऊर्जाशील र नयाँ खोज गर्न विद्यार्थी भाइबहिनीहरुलाई प्रेरित गर्न सक्ने बताउनु भयो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्