images
images
  • Latest Update

    Trending

    उपराष्ट्रपतिसमक्ष जापानका राजदूत युताकाको शिष्टाचार भेट

    काठमाण्डौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसंग नेपालका लागि जापानका महामहिम राजदूत किकुता युताकाले बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

    भेटका क्रममा शुभकामना आदान–प्रदानपछि द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोगलगायतका विषयमा संवाद भयो । उपराष्ट्रपति यादवले नेपाल र जापानबीच ऐतिहासिक सम्बन्ध रही आएको बताउन भयो । ‘सन् १९५६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई मुलुकबीचको सम्बन्ध अझै घनिष्ट एवं मैत्रीपूर्ण रुपमा अगाडि बढिरहेको छ ’ उहाँले भन्नुभयो, ‘दुई देशको औपचारिक कूटनीतिक सम्बन्धको प्रारम्भ हुनुअघि जनस्तरमा द्विपक्षीय सम्बन्ध पनि उत्तिकै बलियो भएकोमा खुशी व्यक्त गर्दछु । ’

    उपराष्ट्रपति यादवले गत नोभेम्बरमा नेपालको जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भुकम्पपछि जापानका गैरसरकारी संस्था, विश्वविद्यालयहरुबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । ‘नेपालले सदैव जापानसंगको आपसी हितका सम्बन्ध र सहयोगलाई उच्च महत्व दिँदै आएको छ । त्यसैगरी, हाम्रो घनिष्ट मित्रराष्ट्र जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताका लागि व्यक्त गर्ने गरेको निःशर्त सम्मानको हामी खुला दिलले प्रशंसा गदर्छौ ’ उहाँले भन्नुभयो, ‘नेपाल र जापानबीच ‘एसियाका ज्योति’ भगवान बुद्धको शिक्षाबाट प्रभावित युगौं पुरानो सामाजिक–सांस्कृतिक सम्बन्ध रहिआएकोमा तपाईको कार्यकालमा हाम्रो सम्बन्ध थप प्रगाढ हुनेमा म विश्वस्त छु । ’

    उपराष्ट्रपति यादवले नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको बताउनु भयो । ‘ जापानले नेपाललाई द्विपक्षीय अनुदान, द्विपक्षीय ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोग गर्दै आएको छ’ उहाँले भन्नुभयो, ‘नेपालसँग जापानी आर्थिक सहयोगका प्रमुख क्षेत्रहरुमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति आदि पर्दछन् । हामी औद्योगिक विकास, कृषि, जलविद्युत, पूर्वाधार विकास लगायत धेरै क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौं ।’

    उहाँले मानव संसाधन विकासमा जापानले सन् २०१६ देखि जापान विकास छात्रवृत्ति (जेडिएस) योजना अन्तर्गत विभिन्न क्षेत्रमा नेपालका सरकारी अधिकारीहरुलाई वार्षिक छात्रवृत्ति प्रदान गर्दै आएको बताउनु भयो । ‘जापान कोलम्बो योजनामा सामेल भएदेखि जापान सरकारले नेपाली विद्यार्थीहरुलाई प्राविधिक तालिम दिन थालेको छ । यसका लागि म जापान सरकारलाई धन्यावाद दिन चाहन्छु ’ उहाँले भन्नुभयो, ‘नागढुंगा सुरुङमार्गको सुरुवातसँगै सडक पूर्वाधारको विकासमा सुरुङ प्रविधिको सुरुवात गर्ने नेपालको प्रमुख कार्यक्रममा जापान नजिकको विकास साझेदार भएकोमा खुशी व्यक्त गर्दछु ।’

    उपराष्ट्रपति यादवले नेपाल ‘२०२५ वल्र्ड एक्सपो, ओसाका, जापानमा सहभागी हुन लागेकोमा खुशी व्यक्त गर्दै भन्नुभयो, ‘यसले द्विपक्षीय व्यापार अभिवृद्धिमा योगदान पुर्याउनुका साथै नेपाली उत्पादनहरु प्रदर्शन गर्ने पर्याप्त अवसर सृजना गर्नेमा विश्वास लिएको छु ।’ उहाँले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको र नेपालले त्यसको पूर्ण उपयोग गर्न नसकेको उल्लेख गर्र्दैै आगामी वर्षहरूमा जापानी लगानी बढ्ने आशा व्यक्त गर्नुभयो ।

    ‘नेपालको समग्र सामाजिक आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा पनि जापानलाई धन्यवाद दिन चाहन्छु ’ उहाँ भन्नुभयो, ‘मलाई विश्वास छ, दुवै मुलुकबीच हुने उच्चस्तरीय भ्रमण आदानप्रदानले दुई देश र जनताको पारस्परिक हित प्रवर्द्धन गर्दै नेपाल–जापान बीचको द्विपक्षीय सम्बन्धलाई थप घनिभूत बनाउँदै जानेछ ।’

    उपराष्ट्रपति यादवले भन्नुभयो, ‘महामहिमले आगामी दिनमा सक्रिय रुपमा हाम्रा आर्थिक सहयोग र सहकार्यका विषयहरु, द्विपक्षीय व्यापार तथा लगानीका विषयहरुलाई उच्च प्राथमिकता दिनुहुने छ र तपाईंको कार्यकालमा नेपाल–जापान सम्बन्ध थप उचाईमा पुग्नेछ भन्ने आशा र विश्वास व्यक्त गर्दछु ।’

    नेपालका लागि जापानका महामहिम राजदूत किकुता युताकाले नेपाल र जापानबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै जापानबाट नेपाललाई जारी सहयोग निरन्तर रहने बताउनु भयो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्