images
images
  • नेपालीपन झल्कने गरी विद्यालयको नाम राख्न निर्देशन

    काठमाडौँ– काठमाडौँ महानगरपालिका शिक्षा विभागले महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको छ ।

    महानगरपालिका शिक्षा विभागले आज एक सार्वजनिक सूचना प्रकाशित गरी महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको हो ।

    शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको महानगरले स्मरण गराएको छ ।

    महानगरपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरुको नाम यो व्यवस्थाको प्रतिकुल देखिएकाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र महानगरस्थित शिक्षा विभागमा सम्पर्क गर्न निर्देशन दिइएको छ ।

    सात दिनभित्रमा सम्पर्क गरी मौलिक नामकरणको प्रक्रिया अगाडि नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउनेसहित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने महानगरको शिक्षा विभागद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

    विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्र महानगरमा निवेदन दिन समेत निर्देशन दिइएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै