images
images
  • Latest Update

    Trending

    एमाले फर्किएका ललितपुरका समाजवादीहरु जिल्ला कमिटीबाटै क्लिन स्वीप

    ललितपुर । चैत्र २३ गतेबाट नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीको जिल्ला अधिवेशन सुरु भयो । नेतृत्व चयन सर्वसम्मतमार्फत गर्नका लागि अधिकतम प्रयास भयो तर प्रयास जुट्न नसके पछि निर्वाचनको विकल्प रहेन ।

    अध्यक्षमा यस अघि पनि नेतृत्व सम्हालिरहेका पुरुषोत्तम आचार्यले बाजी मारे । ४ जना अध्यक्षको प्रतिष्पर्धामा उत्रिएका प्रतिष्पर्धीमध्ये चेतनाथ संजेलले १ सय ५४ मत, दिनेश कार्कीले ८१ मत र सुवर्ण श्रेष्ठले ९ मत ल्याए भने अध्यक्षमा विजयी आचार्यले २ सय २९ मत ल्याए । अधिवेशनमा ४ सय ७८ प्रतिनिधि रहेकामा ४ सय ७३ मत खसेको थियो ।

    यसमा रोचक कुरा त के रहयो भने एमालेबाट बिद्रोह गरेर माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) खडा गरेर १ वर्ष अघि एमालेमै फर्किएका मध्ये सबै निर्वाचनबाट पाखा लागिए । मात्र एक जनाले सदस्यमा निर्विरोध निर्वाचित हुने चाँजोपाँजो मिलाए । बाँकी सम्पूर्णलाई प्रतिनिधिले पत्याएनन् ।

    नेकपा (एकीकृत समाजवादी) ललितपुर जिल्ला कमिटीका सचिवसमेत रहेका सुदर्शन मिश्र एमाले फर्किएर पुनः सोही पदका लागि उम्मेदवारी दिएका थिए । उनी राम राउतसँग पराजित भए । सदस्यका लागि प्रतिस्पर्धामा रहेका शालिकराम मिश्र, राजेन्द्र थापा मगर, ऋषिराज भेटवाल, माधव बञ्जरा, लक्ष्मण रोकालगायतका पूर्व समाजवादीहरुले जिल्ला कमिटीमा ठाउँसमेत पाएनन् । पूर्व समाजवादीबाट नविन तण्डुकारले भने अध्यक्ष आचार्यसँगको निकटताका कारण निर्विरोध निर्वाचित हुने केही तारतम्य मिलाउन सफल भएको एक प्रतिनिधिले बताए ।

    एमालेको ललितपुर जिल्ला कमिटीको अधिवेशनले नेकपा (एकीकृत समाजवादी) छाडेर एमाले फर्किन तयारीमा बसेका कार्यकर्ताहरु झस्किएका छन् । उचित स्थान र जिम्मेवारी दिने वाचासहित एकीकृत समाजवादी छाडेर एमाले फर्किएकाहरुलार्ई चोक्टा खान गएको, झोलमा डुब्नु परेको’ उखानसँग मेल खाएको चर्चा हुने गरेको छ ।

    नेकपा (एकीकृत समाजवादी) को संस्थापकको जिम्मेवारीबाट पन्छिएर वैचारिक विचलन भएकाहरुलाई कसैले पनि विश्वास गर्न नसक्ने ललितपुर समाजवादीमा सन्देश पुगेको छ । पार्टी फर्काउन अनेक आश्वासन दिएर ल्याइएकाहरुलाई आवश्यकतामा भित्तामा पुर्याइने गरेको एमाले फर्किएका एक पूर्व समाजवादी कार्यकताले बताए । आफूहरुलाई हराउने पार्टी नेतृत्वको नियती अनुरुप नै आफूहरु पराजित भएको पूर्व समाजवादीहरुको बुझाइ रहेको छ ।

    अघिल्लो वर्ष चैत्रमै नेकपा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच महासचिव शंकर पोखरेलले ललितपुरको एकीकृत समाजवादीको जम्बो टोली एमाले प्रवेश गराएका थिए । पार्टी छाडेर नयाँ पार्टी गठन गरिसकेको अवस्थामा पुनः सोही पार्टीमा फर्किन औचित्य पुष्टि गर्न सकिनु पथ्र्यो, नयाँ पार्टी गठनको औचित्य पुष्टि र गठन गरेको पार्टी छाडेर एमाले फर्किनु पर्ने दुवै कारण अस्पष्ट हुँदा एमालेले उनीहरुलाई नपत्ताएको एमालेका एक नेताले बताए ।

    अध्यक्षका प्रत्यासी रहेका दिनेश कार्कीले पार्टीमा रहेको आर्थिक अनियमितताको विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताएका थिए । स्थानीय निकाएको निर्वाचनका बखत टिकटमा भएको आर्थिक चलखेलकाविरुद्ध आफ्नो उम्मेदवारी रहेको उनको भनाइ थियो । अध्यक्षका अर्का प्रत्यासी चेतनाथ संजेलले पार्टीमा फर्किएका कार्यकर्ताहरुको मनोबल गिराउनु उचित नरहेको बताए । आफ्नो उम्मेदवारी सबैलाई समेट्नुको लागि रहेको पनि संजेलको भनाइ थियो । आचार्यले सबै उम्मेदवारलाई आफ्नो प्यानलको भन्दै उनीहरुलाई नै बाइपास गरेका कारण धेरै उम्मेदवार उनीसँग रुष्ट रहेका छन् ।

    ललितपुरमा बलियो रहेको एमाले आफ्नै कार्यकालमा कम्जोर बन्यो, अब पुनः एक पटक नेतृत्व सम्हालेर ललितपुरमा बलियो एमाले बनाउन चाहेको भन्दै आचार्यले पुनः अध्यक्षमा उम्मेदवारी दिएका थिए । फुटले कमजोर बनेको पार्टीमा कार्यकर्ता फर्किरहँदासमेत विगतलाई भुल्न नसकेको ललितपुर एमालेले नव निर्वाचित अध्यक्ष आचार्यको संकल्प पुरा गर्न सक्ला भन्ने प्रश्न उब्जिएको छ । बन्दसत्रको क्रममा एमाले ललितपुर महानगर कमिटीका उपाध्यक्ष मोहन सिलवाल, जिल्ला कमिटी सदस्य केशव व्यञ्जनकार र वर्तमान उपसचिव प्रभाकर थापाले उठाएका आर्थिक अनियमितताका सवालमा नेतृत्वले उचित जवाफ नदिइ अगाडि बढेका कारण पनि अध्यक्ष आचार्यको संकल्पले पूर्णता नपाउने पार्टी भित्रकै नेता कार्यकर्ताको बुझाइ रहेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्