images
images
  • Latest Update

    Trending

    यी हुन् कतारका राजासँग गरिने महत्त्वपूर्ण द्विपक्षीय सम्झौताहरू

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै छन् । नेपालले लगानी सम्मेलन आयोजना गर्न लागेको पूर्वसन्ध्यामा भएको अमिर शेख थानीको भ्रमणले अन्तर्राष्ट्रियस्तरमा पनि नेपालबारे सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ ।

    मन्त्रिपरिषद्को यही वैशाख ६ गतेको बैठकले अमिर शेख थानीको नेपालको राजकीय भ्रमण कार्यक्रम स्वीकृत गर्ने, कतारी पक्षसँग हुने वार्ताको नेतृत्व प्रधानमन्त्रीले गर्ने तथा विभिन्न द्विपक्षीय सम्झौताका लागि सहकार्यसम्बन्धी समझदारीपत्रलाई स्वीकृत गरेको थियो ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार नेपाल र कतारबीच युवा तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

    नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौँमा आफ्नो राजदूतावास सन् २०११ अगस्टमा स्थापना गरेको थियो । त्यसभन्दाअघि कतारको दिल्लीस्थित दूतावासले नेपाल मामिला पनि हेर्ने गर्थ्यो ।

    नेपाल र कतार दुवै संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्र र असंलग्न आन्दोलनका पक्षधर हुन् । शान्ति, सुरक्षा तथा विकासका क्षेत्रमा सहकार्यका लागि विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्गठनहरूमा यी दुवै राष्ट्रहरू सदस्यका रूपमा छन् ।

    दुई देशबीच विभिन्न क्षेत्रगत सहकार्यका लागि सम्झौताहरू भएका छन् । तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको भ्रमणका क्रममा सन् २००५ मार्च २१ मा नेपालले कतारसँग श्रम सम्झौता गरेको थियो । सन् २०२१ डिसेम्बर २ र ३ मा काठमाडौँमा सम्पन्न भएको दुई देशका श्रममन्त्रीस्तरीय संयुक्त कमिटीको चौथो बैठकले सन् २००५ मा भएको श्रम सम्झौतालाई पुनरावलोकन गर्ने सहमति जुटाएको थियो ।

    यद्यपि हालसम्म उक्त सम्झौता पुनरावलोकन हुन सकेको छैन । दुई देशबीच सन् २००५ मा आर्थिक, व्यापारिक तथा प्राविधिक सहकार्यसम्बन्धी सम्झौता पनि भएको थियो । सन् २००७ मा नेपालले कतारसँग दोहोरो करमुक्ति सम्झौता गरेपछि त्यहाँका लगानीकर्ताले नेपालका कृषि, पूर्वाधार, ऊर्जालगायत विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।

    नेपाल र कतारबीच द्विपक्षीय हवाई सेवा (नागरिक उड्डयन)सम्बन्धी सम्झौता सन् २००२ जुलाइ ८ मा सम्पन्न भएको थियो । त्यस्तै दुई देशबीच पर्यटन प्रवर्द्धनका लागि पर्यटन क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौतापत्रमा सन् २०११ मा हस्ताक्षर भएको थियो ।

    दुई देशका निजी क्षेत्रबीच पनि सहकार्य हुँदै आएको छ । नेपाल चेम्बर अफ कमर्स र कतार चेम्बर अफ कमर्सले सन् २०१८ मा दुईपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । त्यसैगरी, कतारको मुख्य बैंकमध्ये एक दोहा बैंकले सन् २०१८ डिसेम्बरमा काठमाडौँमा सम्पर्क कार्यालय खोलेको थियो ।

    नेपालका उद्यमीहरू कतारमा सङ्गठितसमेत भएका छन् । सन् २०२१ मार्चमा कतार वित्तीय प्राधिकरण (कतार फाइनान्सियल अथोरिटी) मा ‘नेपाली विजनेस एशोसिएसन कतार’ नाममा नेपालीहरू सङ्गठित भएर संस्था दर्ता भएको थियो ।

    कतार बेलायतबाट सन् १९७१ मा स्वतन्त्र भएको मुलुक हो । स्वतन्त्र हुनुअघि कतारले आफ्नो अस्थायी संविधान लागू गरिरहेकामा औपनिवेशिक स्वतन्त्रतापछि उक्त संविधानलाई थप संशोधन र परिस्कृत गरी कार्यान्वयनमा ल्याएको थियो ।

    कतारको शासकीय व्यवस्था, कानुन प्रणाली, कार्यकारी अधिकार तथा शासनको उत्तराधिकारीलगायत महत्त्वपूर्ण विषयहरू समेटेर सन् १९९९ मा स्थायी संविधानको मस्यौदा निर्माणका लागि समिति गठन गर्न अमिरी आदेश जारी गरियो । कतारले सोही वर्ष अर्थात् सन् १९९९ मा पहिलोपटक केन्द्रीय नगर परिषद्को चुनाव गरेको थियो । यसलाई लोकतन्त्रप्रतिको पहिलो कदमका रूपमा कतारले लिँदै आएको छ ।

    विभिन्न समयमा दुवै देशबाट उच्चस्तरीय भ्रमणहरू भएका छन् । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले सन् २०११ को अक्टोबरमा कतारको औपचारिक भ्रमण गरेका थिए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१८ को अक्टोबर ३० देखि नोभेम्बर २ सम्म कतारको राजकीय भ्रमण गरेकि थिइन् ।

    सन् २०२२ मार्च २१ देखि २३ गतेसम्ममा नेपालका तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ कतार भ्रमणमा गएका थिए । त्यसैगरी, सन् २०१९ नोभेम्बर २० देखि २२ गतेसम्म तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले कतारको भ्रमण गरेका थिए ।

    तत्कालनी सभामुख कृष्णबहादुर महराले सन् २०१९ अप्रिल ६ देखि १० गतेसम्म कतार भ्रमणमा गएका थिए । तत्कालीन उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सन् २०१८ नोभेम्बर १३ देखि १४ कतार भ्रमण गरेका थिए ।

    नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेका अवसरमा सन् २०१७ जनवरीमा तत्कालिन परराष्ट्रमन्त्री प्रकाशशरण महत कतारको आधिकारिक भ्रमणमा गएका थिए । त्यस्तै तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सन् २०१५ अप्रिल ११ देखि १४ गतेसम्म भ्रमण गरेका थिए ।

    कतारकातर्फबाट नेपालमा भएका उच्चस्तरीय भ्रमणहरूमा सन् २०१५ अप्रिल ४ देखि ७ गतेसम्म कतारको श्रम तथा सामाजिक मामिलामन्त्री डा अब्दुल्लाह विन सलेह मुबारक अल–खुलाफी नेपाल भ्रमणमा आएका थिए । कतारका वातावरणमन्त्री अब्दुल्लाह विन मुवारक विन अबुद अल–मिधाधीले सन् २०१२ अप्रिल ५ देखि ९ गतेसम्म नेपाल भ्रमणमा आएका थिए । कतारका वैदेशिक मामिला मन्त्री शेख हमाद विन जसिम विन अल थानी सन् २००९ मा नेपाल भ्रमणमा आएका थिए ।

    कतारको योजना तथा तथ्याङ्क प्राधिकरण (प्लानिङ) एन्ड स्टाटिस्टिक अथोरिटीको तथ्याङ्कअनुसार कतारको जनसङ्ख्या २०२४ मार्च महिनासम्ममा ३१ लाख १९ हजार पाँच सय ८९ बराबर छ । जसमध्ये पुरुषको जनसङ्ख्या २२ लाख १२ हजार चार सय ६८ र महिलाको सङ्ख्या नौ लाख सात हजार एक सय २१ बराबर छ । कतारमा आर्थिकरुपमा सक्रिय जनसङ्ख्या करिब ८७ प्रतिशत हाराहारी छ ।

    कतारले सन् २०२३ को पहिलो त्रैमास अवधिसम्ममा गरेको श्रमशक्ति नमुना सर्वेक्षण (लेबर फोर्स स्याम्पल सर्भे) अनुसार कतारमा शून्य दशमलव एक प्रतिशत हाराहारीमा मात्रै बेरोजगारी रहेको छ ।

    कतार प्रतिव्यक्ति आय बढी भएका मुलुकको शीर्ष स्थानमै पर्दछ । कतारको प्रतिव्यक्ति औसत आय अमेरिकी डलर एक लाख १४ हजार हाराहारी छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अमेरिकी डलर दुई खर्ब २४ अर्ब ६९ करोड अमेरिकी डलर बराबर रहेको छ ।

    नेपाल र कतारबीचको वैदेशिक व्यापारको क्षेत्र पनि विस्तारै बढ्दै गएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा एक अर्ब ५३ करोड ५१ लाख ६७ हजार बराबरको आयात र नौ करोड १९ लाख बराबरको निर्यात भएको छ ।

    नेपालको चिया, कफी, पिउने पानी, मसला, अलैँची, कतारमा निर्यात हुने गरेका छन् भने कतारबाट धुलो दूध, मह, काजुलगायत ड्राइफ्रुट, कफीलगायत वस्तुको बढी आयात बढी हुने गरेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्