images
images
  • Latest Update

    Trending

    रवि लामिछानेलाई प्रधानमन्त्रीको जवाफ : जीबी राईबारे कुतर्क नगर्नू

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न सरकारी संस्थाका बचतकर्ताको करोडौं रुपैयाँ अपचलन गरेर फरार गितेन्द्रबाबु राई (जीबी) बारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई जोडेर गरेको टिप्पणीलाई बेतुक र वाहियात भनेका छन् ।

    आइतबार अपरान्ह गृहजिल्ला चितवन पुगेका प्रधानमन्त्रीले पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्रीको उक्त तर्कलाई बेतुकको संज्ञा दिए ।

    ‘गृहमन्त्रीको त्यो कुरा वाहियात हो, कुतर्क कसैले पनि गर्नु हुँदैन’, दाहालले भने, ‘जीबी राईलाई अघिल्लो सरकारले, प्रधानमन्त्रीले, गृहमन्त्रीले भगायो भन्नु बेतुकको तर्क हो ।’

    दाहालले सहकारीका बचतकर्ताको रकम अपचलन गरेर फरार जीबीलाई पक्राउ गर्ने कुरामा सरकार प्रष्ट रहेको पनि बताएका छन् ।

    ‘जीबी राइलाई पक्राउ गरेर ल्याउनु पर्छ भन्ने कुरामा सरकार प्रष्ट छ’, उनले पत्रकारहरूलाई जवाफ दिँदै भने,‘राहदानीको इस्युले अलिकति समस्या भएको छ, त्यसलाई पनि हल गर्न खोजिँदैछ, जीबीलाई ल्याउने कुरामा सरकार प्रतिबद्ध छ।’

    गृहमन्त्री लामिछानेले आइतबारमात्रै चितवन आएर अघिल्लो सरकार अर्थात् कांग्रेसको समर्थनमा प्रधानमन्त्री प्रचण्ड नै रहँदा जीबी राईलाई भगाएकोले पक्राउ गर्न समस्या भइरहेको जिकिर गरेका थिए । चितवनमा गृहमन्त्रीले बोलेको उक्त कुरालाई प्रचण्डले चितवनमै पुगेर वाहियात र कुतर्कको संज्ञा दिएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले जीबी राईलाई यसअघिको सरकारले भगाएको भन्ने कुरा कुतर्क रहेको दोहोर्‍याउँदै कानुनी जटिलता हटाएर स्वदेश ल्याउन सरकारले पहल गरिरहेको पनि जानकारी दिए ।

    प्रधानमन्त्रीले प्रचण्डले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कुरामा कुनै समस्या नहुने समेत बताए ।

    त्यस्तै उनले यसअघि कांग्रेसलाई राष्ट्रपति दिएर अन्य प्रमुख पद सबै दलहरूलाई दिन खोज्दा कुरा बिग्रिएको भन्दै कांग्रेसले आफूलाई र आफूले कांग्रेसलाई नकारात्मक रुपमा लिनुपर्ने कुनै कारण नभएको बताए ।

    दाहालले जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयमा कुनै शंका नरहेको बताए ।

    पर्सि बिहानसम्म निकास निकालेर नीति तथा कार्यक्रम प्रस्तुत गर्न वातावरण तयार पारिने उनले दाबी गरे ।

    गृहमन्त्री लामिछाने जोडिएको सहकारीको रकम अपचलनको विषयमा संसदीय छानबिन समिति बनाउनेबारे उनी पनि सैद्धान्तिक रुपमा विरोध नजनाएको उनले बताए । पर्सि बिहानसम्म पनि निकास ननिस्किए राष्ट्रपतिको सम्बोधन नरोकिने उनको भनाइ छ ।

    ‘कांग्रेससँग सकरात्मक वार्ता र छलफल भइरहेको छ, नीति तथा कार्यक्रममा अवरोध हुने जस्तो लाग्दैन, कांग्रेसले त्यसो गर्न सुहाउँदैन, सकेसम्म सदन चलाउन सहमति हुन्छ, नभए नीति तथा कार्यक्रम प्रस्तुत हुन्छ’–प्रधानमन्त्री दाहालले भने, ‘कांग्रेसले सहमति होस् भन्ने चाहना राखेको छ, त्यसमा म प्रत्यनशील छु ।’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्