images
images
  • Latest Update

    Trending

    हसिना खान : सांसद बनेको २३ दिनमै मन्त्री भइन्

    काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानलाई गत चैत २२ गते सिफारिस गर्‍यो ।

    अर्की समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त रहेको समानुपातिक सांसद पदमा जसपाले २९ वर्षीया खानको नाम सिफारिस गरेको थियो ।

    जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले खानलाई सांसदका सिफारिस गर्ने निर्णय गरेको थियो । त्यहीअनुसार खानलाई यही वैशाख ७ गते सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य पदको शपथ दिलाए ।

    संयोग कस्तो बन्यो भने हसिनाले अध्यक्ष यादव नेतृत्वकै जसपा नेपाल कार्यकारिणी समितिको बैठकबाट सांसदको जिम्मेवारी पाएको दुई साता पनि नबित्दै पार्टी विभाजित भयो ।

    हसिना सांसद भएको १६ दिनपछि अर्थात् वैशाख २३ गते संघीय परिषद् अध्यक्ष अशोक राईको नेतृत्वमा ७ सांसदले जसपा नेपाल फुटाए ।

    जनता समाजवादी पार्टी नेपाल फुट्दा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव अमेरिका थिए । वैशाख १५ गते राष्ट्रसंघको कार्यक्रममा भाग लिन अमेरिका गएका उनी वैशाख २५ गते मात्रै स्वदेश फर्किए । जुनबेला अशोकले निर्वाचन आयोगबाट नयाँ दलको प्रमाणपत्र नै बुझिसकेका थिए ।

    अनौठो के थियो भने हसिनालाई समानुपातिक सांसद बनाउने निर्णयमा हस्ताक्षर गरेका अध्यक्ष उपेन्द्र यादवलाई पार्टी फुट्दा साथ दिइनन् ।

    उनी र वन तथा वातावरण मन्त्री नवलकिशोर साह दुवैले आश्चर्यजनक रुपमा नयाँ पार्टी खोल्ने अशोक राईको निर्णयलाई साथ दिँदै निर्वाचन आयोग पुगेर सनाखत गरे ।

    नवलकिशोरलाई मन्त्री बनाउँदा रुष्ट रहेका प्रदीप यादवले पनि अशोक राईलाई साथ दिए । उता नवलकिशोरलाई मन्त्री बनाउँदा रिसाएका राजकिशोर यादवले भने सुरुमा अशोकलाई सघाउने बताएर उपेन्द्रतिरै बसेका छन् । अहिले अशोकसँग ७ जना र उपेन्द्रसँग ५ जना प्रतिनिधिसभाका सदस्य छन् ।

    संख्यात्मक हिसाबमा अशोकको जसपा बलियो भएको छ । अब संघीय सरकारमा जसपाका २ मन्त्री र १ राज्यमन्त्री भएका छन्। त्यही संख्याको बलमा सोमबार नै अशोकले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र राज्यमन्त्री दीपक कार्कीलाई सत्ताबाहिरको बाटो देखाइदिए ।

    गत चैत ४ गते जसपा नेपालकी समानुपातिक सांदस मञ्जु अन्सारी शर्माको काठमाडौंको निजामती अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

    त्यसपछि हसिनालाई सांसद हुने अवसर मिलेको हो । अब उनी सांसद भएको २३ दिनमै मन्त्री पनि भएकी छन् । उनले सोमबार प्रदीप यादवसँगै स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी छन ।

    स्नातकसम्म अध्ययन गरेकी स्वास्थ्य राज्यमन्त्री खान २९ वर्षकी छन् । रुपन्देहीको रोहिणी गाउँपालिका–२ पोखरभिन्दीमा जन्मिएकी खान अहिले बाँकेको डुडुवा गाउँपालिका–३ बाट प्रतिनिधित्व गर्छिन्। उनी रुपन्देहीबाट विवाह गरेर बाँके गएकी हुन्। सांसद खानको कार्यक्षेत्र पनि बाँके नै हो ।

    सोमबार मन्त्री बनेकी हसिनालाई यो अवसर खु्ल्नुअघि मञ्जु अन्सारी शर्मा २०७९ चैत १९ मा प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन्।उनलाई सांसदको अवसर मिल्दा पनि त्यसअघिकी २०७९ मा निर्वाचन सांसदको निधन भएको थियो ।

    २०७९ को निर्वाचनमा समानुपातिकबाट निर्वाचित झापाकी ६३ वर्षीया शहनाज रहमानको २०७९ फागुन २३ गते निधन भएपछि मञ्जु अन्सारी शर्मा समानुपातिकबाट सांसद बनेकी थिइन्। तर उनको पनि निधन भएपछि सांसद बनेकी हसिनाले २३ दिनमै मन्त्री बन्न भ्याइन्, त्यो पनि पार्टी फुटेको अवस्थामा ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्