images
images
  • Latest Update

    Trending

    हेलम्बु हिमालय ग्रेट ट्रेल निर्माणमा सहयोग गर्ने विश्व बैंकका वरिष्ठ अर्थशास्त्रीको प्रतिबद्धता

    रातोपाटीन्यूज, सिन्धुपाल्चोक । जिल्लाको प्रसिद्ध हेलम्बु गाउँपालिकाको षडाक्षरी धर्मचक्र पर्खाल (हिमालयन गुरु रिन्पोछे ग्रेट ट्रेल निर्माणमा सहयोग गर्ने विश्व बैकका वरिष्ठ अर्थशास्त्री गोविन्द तिमिल्सिनाले प्रतिबद्धता दिएका छन् ।

    हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाकाअनुसार शुक्रबार विश्व बैकका वरिष्ठ अनुसन्धान अर्थशास्त्री तिमिल्सनासहितको विदेशी प्राध्यापकको टोलीले निर्माणाधिन ग्रेट ट्रेल अवलोकन गरेको थियो । हेलम्बुको महत्वपूर्ण र बृहत योजनामध्ये एक ट्रेल र हेलम्बुको प्राचिन इतिहास र पर्यटन विकासबारे अध्यक्ष शेर्पाले अर्थशास्त्री तिमिल्सनालाई विस्तृत जानकारी गराएका हुन् ।

    अमेरिकाबाट केही दिनअघि मात्रै यहाँ आएका अर्थशास्त्रीसहितको टिमले हेलम्बु गापाले निर्माणाधिन् चीनको ग्रेट वालको झझल्को दिने ६० किलोमिटरमध्ये बनिसकेको ८ किलोमिटर संरचना अवलोकन गरेका थिए ।

    ‘चीनको ग्रेट वालभन्दा पनि यो राम्रो लाग्यो, हिमालको काखमा रहेको झण्डै सम्पूर्ण हेलम्बु देख्न सकिने यो ग्रेट ट्रेल देखेर गर्वले छात्ती फुलेको छ, यसमा हाम्रो सहयोग समन्वय र पुरा साथ रहनेछ, यसले हेलम्बु मात्रै नभई सिंगो देशको पर्यटनमा सघाउन पुग्ने देखिन्छ’ अर्थशास्त्री तिमल्सिनाले भने । देशभर आर्थिक निराशा छाइरहेसँगै किशोरकिशोरी वैदेशिक रोजगारीमा धकेलिनुपरेको घटना सम्झँदै उनले यसलाई रोक्न यही रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए ।

    अर्थशास्त्री तिमल्सिनाले बौद्ध धर्म र प्राचिन इतिहासको महत्व बोकेका हुनाले ग्रेट ट्रेल भविष्यमा गएर देशकै लागि अर्थतन्त्रको सहारा बन्ने र यो देखेर आफु धेरै प्रभावित भएकाले आवश्यक सहयोग र पहलकदमीमा जुट्ने उनले जनाए । हेलम्बु गाउँपालिका ६ स्थित घोप्टेघ्यामा रहेको हेलम्बु बोधिसत्व मोडेल विद्यालयका बालबालिका, स्थानीय र शिक्षकले अर्थशास्त्रीको टोलीलाई संगित, नृत्य प्रस्तुत गर्दै फुलमाला र दोसल्लाले सम्मान गरेका थिए । ह्योल्मो अनुसन्धानदाता टासी दोबा ह्योल्मोले यहाँ प्राचिन ह्योल्मो सभ्यताबारे अर्थशास्त्रीको टिमलाई जानकारी गराएका थिए । भने, यो समूहमा वल्र्ड भिजन एडभोकेसी फर्मका कार्यकारी निर्देशक नबराज अधिकारीसमेत् सहभागी थिए ।

    यसअघि आर्थिक समस्याकै कारण तिव्रता दिनमा ढिलाइ भएको ग्रेट ट्रेल बन्नुमा विश्व बैकका अर्थशास्त्रीबाट सहयोगको प्रतिबद्धता पाएपछि नयाँ आशा पलाएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए ।

    ‘बजेट मनग्य नहुँदा ट्रेलको काम ढिला भएको थियो, अब विश्व बैकका अर्थशास्त्रीले चासो दिनुभएपछि नयाँ आशा जागेको छ,’ शेर्पाले भने ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्