काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको पत्र सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आज शुक्रवार समर्थन फिर्ता लिएकोसम्बन्धी औपचारिक पत्र संसद् सचिवालयमा दर्ता गराएका हुन् ।
पत्रमा भनिएको छ, ‘प्रधानमन्त्री दाहालको नेतृत्वमा गठित वर्तमान सरकारलाई एमालेका तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा वर्तमान सरकारलाई दिँदै आएको समर्थन मिति २०८१ असार १९ गते फिर्ता गरिएको छ ।’
यस विषयमा प्रधानमन्त्रीलाई समेत जानकारी गराइ सकिएकाले एमाले संसद्मा प्रतिपक्षमा रहने व्यहोरा पत्रमा उल्लेख गरिएको छ ।
काँग्रेससँग नयाँ गठबन्धन गरेसँगै एमाले सरकारबाट बाहिरिएको हो । राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भन्दै असार १९ बाट समर्थन फिर्ता लिइएको पत्र संसद् सचिवालयलाई पठाइएको सचेतक बर्तौलाले बताए ।
नेकपा एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्तासँगै सरकारमा सहभागी सबै मन्त्रीहरुले राजीनामा पनि दिइसकेका छन् । एमाले र कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएर छिटो मार्ग प्रशस्त गर्न आग्रह गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्