काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानुनको परिपालनाका लागि सामाजिक चेतना र नैतिक बन्धनको प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा सिंहदरबारमा आज आयोजित मुलुकी संहिता दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले अपराधमाथिको अनुसन्धान, अभियोजन र न्याय निरुपण गर्ने संस्थाहरुलाई स्वच्छ र जिम्मेवार तुल्याउनुपर्नेमा जोड दिए । देशले न्याय क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्दै आएको बताउँदै उहाँले दक्षिण एसियामा कानुन र संविधान निर्माणमा हाम्रो देश अगाडि छ भने ।
प्रधानमन्त्रीले भने ‘हामी नेपाली समाजलाई एउटा न्यायसम्मत समाजका रुपमा विकास र सञ्चालन गर्न चाहन्छौँ । समाजको चेतना र संस्कृति अनुकूल संविधान र कानुन बनेका हुन्छन् । प्रधानमन्त्री ओलीलले भन्नुभयो, ‘न्याय स्थापनाका लागि न्यायसम्मत राज्य र कानुनसम्मत समाजको परिचालन आवश्यक छ । संविधान र कानुलाई समाजले आदर्श दस्तावेजका रुपमा लिनुपर्छ भन्ने नागरिक चेतना हुनुपर्छ, अन्यथा समाजमा डिसअर्डर हुन्छ । कानुन कार्यान्वयनका लागि सरकारका तर्फबाट गर्नुपर्ने कामका लागि हाम्रो पहल हुनेछ ।’
नेपालमा २०७५ भदौ १ गते विभिन्न संहिता, कानुन लागु भएको सन्दर्भमा मनाइएको दिवसमा प्रधानमन्त्री ओलीले लोकतन्त्रमा जनता सार्वभौमसत्तासम्पन्न हुने भएकाले सामूहिक रुपमा पहल भएमा संसद्ले संविधान संशोधन गर्न सक्ने स्पष्ट गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्