सिन्धुपाल्चोक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको बाह्रबीसेमा निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् ।
सिन्धुपाल्चोकको बाह्रबीसेस्थित पलाँतीमा निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत् आयोजनको पावरहाउस तथा सवस्टेशनको बुधवार स्थलगत निरीक्षण गर्दै उनले दुई महिनाभित्र विद्युत् उत्पादन हुनेगरी आयोजनाको काम तीव्र गतिमा सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
आयोजना सम्पन्न गर्नका लागि अहोरात्र काम गर्न आग्रह गर्दै आयोजना निर्माणका क्रममा देखिएको समस्या समाधानमा मन्त्रालयले काम गर्ने उनले बताए । ऊर्जामन्त्री खड्काले मध्यभोटेकोसी जलविद्युत् आयोजना चाँडो सम्पन्न गर्नसके देशले आर्थिक उन्नतिका क्षेत्रमा उल्लेखनीय प्रगति गर्ने बताए ।
मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम), नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मन्त्रालयका सहसचिव सन्दीप देवलगायतले पावरहाउस तथा सवस्टेशनको निरीक्षण गरेका थिए ।
चिलिमे जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणको मुख्य लगानी तथा जनताको शेयर रहेको उक्त आयोजनाको लागत २० अर्बभन्दा बढी रहेको छ । कूल १०२ मेगावाट क्षमताको उक्त आयोजना सन् २०१२ बाट निर्माण सुरु भएको थियो ।
मध्यभोटेकोसी नदीबाट कूल सात दशमलव एक किलोमिटर मुख्य टनेल हुँदै पावरहाउसमा पानी ल्याइएको छ । उक्त पावरहाउसबाट उत्पादित विद्युत् २२० केभीको ट्रान्समिसन लाइनमार्फत चार किलोमिटर सिङ्गल सर्किट हुँदै बाह्रबीसे सवस्टेशनमा लगेर जोडिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्