images
images
  • माधव नेपालको प्रष्टोक्ति– कसैलाई जिताउन र हराउन चिट बाँडेको छैन

    काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको पदाधिकारी निर्वाचनमा आफू कसैको पक्षमा नलागेको स्पष्ट पारेका छन् ।

    अध्यक्ष नेपालले केही दिनअघि भएको पार्टीको पदाधिकारी निर्वाचनमा कोही व्यक्ति विशेषलाई जिताउन वा हराउन आफूले चिट नबाँडेको स्पष्ट पारे । उनले आफू पार्टी अध्यक्षको रुपमा सबैको साझा व्यक्ति भएको भन्दै निर्वाचनमा कुनै हस्तक्षेप नगरेको बताए ।

    उनले भने,‘अध्यक्ष सबैप्रति साझा हुनुहुन्छ । चिटको काममा मैले रोक नै लगाएको हो । मलाई थाहा पनि भएन । थाहा भएको होइन । कसैले अध्यक्षलाई दोष लगाउलान् । कसैले महासचिवलाई दोष लगाउलान् । कसैले अर्को नेतालाई दोष लगाउलान् । आ–आफू जित्न आ–आफ्नो ढंगले चलेका होलान् । म यस्ता कुराको विपक्षमा छु । मेरो लागि सबै बराबर हुन् । साझा हुन् । प्रतिस्पर्धामा गइसकेपछि प्रतिस्पर्धाबाट जित्ने हो ।’

    निर्वाचनमा दश प्रकारका चिट बाँडिएको भन्दै चिटमा नाम परेकाहरु हार्ने र नाम नपरेकाहरु जित्ने निर्वाचन परिणाम आएकाले चिटले काम नगरेको स्पष्ट भएको उनको भनाई छ ।

    अध्यक्ष नेपालले सार्वजनिक रुपमा पार्टीको विरुद्धमा बोल्ने नेताहरुलाई छुट दिन नसकिने बताए । उनले सार्वजनिक रुपमा पार्टीको बद्ख्वाईँ गर्ने मान्छे पार्टीको मान्छे हो कि होइन भन्नेमै प्रश्न उठ्ने बताए ।

    उनले पार्टीप्रति बफादार नभएको मान्छेलाई पार्टीमा बस्ने नैतिक अधिकार छ ? भनि प्रश्न समेत गरे । पार्टीमा असन्तुष्ट नेताहरुलाई फकाइरहेको समेत अध्यक्ष नेपालले बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै