काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले विगत केही दिनदेखि देशमा विकसित विभिन्न घटनाक्रम र त्यसबाट शान्ति सुरक्षा एवं मानव अधिकारको संरक्षणमा पर्नसक्ने प्रतिकूल प्रभावप्रति ध्यानाकर्षण भएको जनाएको छ।
“कानुनको कार्यान्वयनमा पूर्वाग्रह भएको, दूराशय राखी पक्राउ गरिएको, पक्राउ गरिएका व्यक्तिप्रति मानवोचित व्यवहार नभएको र स्वास्थ्य उपचारमा पूर्वाग्रही भएकोजस्ता सूचनाहरू आयोगमा प्राप्त भएका छन्”, विज्ञप्तिमा भनिएको छ, “प्राप्त सबै सूचनाको आयोगले अनुगमन गरिरहेको छ, पक्राउ र आरोपको पक्षविपक्षमा भएका गतिविधिबाट नागरिकको मानव अधिकार संरक्षण र शान्तिसुरक्षामा प्रभाव परिरहेको देखिएको छ।”
फौजदारी कसुरमा छानबिन तथा अनुसन्धान गर्ने सन्दर्भमा राज्यकोतर्फबाट हुनसक्ने पूर्वाग्रहपूर्ण व्यवहार र आरोपीकोतर्फबाट प्रचलित कानुनी विधि र प्रक्रियाविपरीत व्यक्त हुने घृणायुक्त अभिव्यक्तिबाट यस प्रकारको अवस्था नआओस् भन्नेतर्फ सबै सचेत रहन आवश्यक भएको आयोगले जनाएको छ।
फौजदारी मुद्दामा निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान हुनसकेमा मात्र देशमा मानव अधिकार र कानुनी शासनको स्थापना हुन्छ भन्ने कुरामा विवाद हुन नसक्ने आयोगको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्