काठमाडौं- दशैं नजिकिँदै गर्दा चीनतर्फबाट सामग्री आयात गर्ने मुख्य तातोपानी नाका बन्द हुन पुगेको छ । पछिल्लो समयमा आएको बाढीको कारण पहिरोले सडकमा क्षति पुर्याएको र बेलिब्रिज पुल बगाएपछि सवारी साधनको आवतजावत बन्द हुन पुगेको हो । जसले गर्दा दशैं लक्षित सामग्रीको आपूर्तिमा समस्या सिर्जना भएको छ ।
तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद अधिकारीका अनुसार तातोपानी नाका नजिकको तिपिङदेखि लार्चा बिचमा पर्ने तिपिङ खोलामा पुल र सडकबीचकोको सम्बन्ध विच्छेद भएकाले सवारी साधन ओहोरदोहोर गर्न नसक्ने अवस्था छ । साथै बाढीले भन्सार कार्यालय भएको लार्पा नजिकको भोटेकोशीको बेलिब्रिज पुल पनि बगाएको छ । जसले गर्दा अहिले सडक यातायात पूर्णरूपमा सम्बन्ध विच्छेद भएको अवस्था भएको उनले बताए ।
दशैं लक्षित गरेर नेपाल ल्याउनको लागि सीमा नजिक क्षेत्रमा आइपुगेका ठूलो संख्याका कन्टेनरहरू अलपत्र पर्न पुगेको उनले खबरहबलाई जानकारी दिएका छन् ।
तातोपानी नाकामा समस्या हुँदा रसुवाको नाका प्रयोग गर्ने हो र रसुवाको नाकामा समस्या हुँदा तातोपानी नाका प्रयोग गर्ने हो’, उनले भने, ‘अहिले रसुवा नाकामा पनि समस्या भएको हुँदा कन्टेनरहरू बीचमा नै अलपत्र पर्ने अवस्था बनेको छ ।
चीनबाट आयातित सामग्री फेरि फर्काएर दक्षिणको मार्गबाट ल्याउने सम्भावना पनि कम भएको भन्दै उनले लामो समय नाकामा सामग्री अलपत्र पर्ने अवस्था देखिएको बताए ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय रसुवाले पनि पछिल्लो वर्षाले केरुङतर्फको सडक संरचनामा क्षति पुगेको कारणले यातायात सुचारु हुन केही समय लाग्ने बताएको छ । चीनतर्फको दुवै नाकाको सञ्चालनमा कठिनाइ हुँदा चाडपर्व लक्षित र जाडोयामको लागि आयात हुने सामग्रीमा समस्या हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्