काठमाडौं– प्रेस काउन्सिल नेपालले दशैंको बिदामा समेत मिडियाको नियमनलाई निरन्तर दिने भएको छ ।
बुधवार एक प्रेस विज्ञप्ति जारी गरी काउन्सिलले दशैं बिदाको समयमा आएका उजुरी, गुनासाहरुमा अनुगमन र सुनवाई हुने जानकारी गराएको हो ।
सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा काउन्सिलको अनलाइन उजुरी प्रणाली तथा वेबसाइटमा उजुरीका लागि तोकिएको ठेगानामा इमेल गर्न सकिने उल्लेख छ ।
नेपाली मिडियाको नियमनकारी निकाय काउन्सिलले बडा दशैँ, तिहार, छठलगायतका राष्ट्रिय पर्वहरू र नेपाल संवत् ११४५ को अवसरमा सम्पूर्ण सञ्चार माध्यम, सञ्चारकर्मी, आम पत्रकार, सबै नागरिकप्रति शुभकामना समेत प्रदान गरेको छ ।
चाडपर्वहरूले राष्ट्रिय एकता, भ्रातृत्व र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै यसलाई कायम राख्न सञ्चारमाध्यमको अहम भूमिका हुने काउन्सिलले जनाएको छ ।
चाडपर्वका समयमा पनि सदाझैँ सही सूचना प्रवाह गर्ने सञ्चारकर्मी, पत्रकार एवं आमसञ्चार माध्यमको कर्तव्य र जिम्मेवारी रहेको उल्लेख गर्दै विज्ञप्तिमा गलत, समाजमा उत्तेजना र अफवाह फैलाउने, धार्मिक, सांस्कृतिक एवं सामाजिक सद्भाव बिगार्ने, हिंसा एवं आतङ्कलाई प्रशय दिने गरी समाचार सामग्री प्रकाशन प्रसारण नगर्न भनिएको छ ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाकर्मीले हरसमय तथ्यपूर्ण, मर्यादित र जिम्मेवार पत्रकारिता गर्नुपर्ने भएकाले काउन्सिलले विदाको अवधिमा समेत नियमनको काम जारी राख्ने निर्णय गरेको बताए ।
काउन्सिलले भ्रामक, अश्लील एवं अमर्यादित, वैयक्तिक गोपनीयता प्रतिकूलका सामग्री सम्प्रेषण नगर्न/नगराउन सञ्चारकर्मी, आम पत्रकार एवं सञ्चार माध्यमअन्तर्गत रहेका युट्युब च्यानल लगायतका सामाजिक सञ्जालका प्रयोगकर्ताहरूलाई आग्रह समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्