काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हतियार बिसाउन लगाउन आफूहरूले जानेको जवाफ दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै माटामुनि लुकाइएका खिया लागेका हतियारले अब काम नगर्ने चेतावनीसमेत दिनुभयो ।
शनिबार काठमाडौंमा माओवादी केन्द्रले सरकारविरुद्ध आयोजना गरेको खबरदारी सभामा पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हतियार बिसाए पनि आफूहरूले चलाउन नबिर्सेको भन्दै सरकारलाई चेतावनी दिनुभएको थियो ।
प्रधानमन्त्री ओलीले प्रचण्डको अभिव्यक्तिको आइतबार जवाफ फर्काउनुभएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हिजो एकजना उफ्रीउफ्री भाषण गर्दै थिए, हिजो मात्रै देखेको थिएँ, हतियार बिसाएको मात्रै हो, चलाउन बिर्सिएको छैन । त्यस्तै त्यस्तै त हामी हुनुभएन नि, धम्क्याएका भरमा खाने ? माओवादीले अझै धम्क्याएको भरमा खाने गरेको छ । म त त्यसलाई फेरि… हतियार कसरी बिसाउन लगाउने हामीलाई थाहा छ पनि नभनौँ । हामी चलाउन त चलाउँदैनौँ । हामी बिसाउन लगाउन जानेका छौँ ।’ नेपाली समाजलाई झुटो प्रचार गरेर धम्की नदिन चेतावनी दिँदै ओलीले भन्नुभयो, ‘लोकतन्त्र भनेको छाडातन्त्र होइन । नेपाल लडेर बनेको र लडेर बचाएको राष्ट्र भएकाले सिंहदरबार वा बालुवाटार कब्जा गर्छौं, चुट्छौँ, मार्छौं, काट्छौँ भन्नु छाडातन्त्र हो । त्यस्ता क्रियाकलाप सहृय हुँदैन ।’ केपी ओलीको शाख घट्यो, अलोकप्रिय भयो भन्ने प्रायोजित प्रचार भएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भाडामा खटाइएकाहरूले केपी ओलीको शाख घट्यो भन्न सक्छन्, सचेत जनतालाई थाहा छ कि हामी कति लोकप्रिय हौँ भन्ने । ओलीको शाख घटेको भन्नेहरूले २०८४ को निर्वाचनमा हेरून् ।’
सत्ता टिकाउन राष्ट्रियताका विषयमा सौदाबाजी गर्दिनँ : प्रधानमन्त्री
नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी नगर्ने बताउनुभएको छ । आइतबार नेकपा एमालेको भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कांग्रेस-एमालेको सरकार राष्ट्रिय एकताको रक्षा र देशको हितका लागि प्रतिबद्ध रहेको जिकिर गर्दै भन्नुभयो, ‘हामी अरूको हितमा असर नपार्ने र आफ्नो जायज हित नछाडने संकल्पका साथ अघि बढेका छौँ । सरकार प्राप्त गर्न वा सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी गर्ने जस्ता घिनलाग्दा काम हामीबाट हुन सक्दैन । नाकाबन्दीको सामना गर्दा हामी सरकारबाट बाहिर पुग्यौँ होला तर हामी कुनै छलछाम नगरी जस्केलाबाट नभई निर्वाचनका माध्यमबाट सिंहदरबारको मूल ढोकाबाट सत्तामा आउछौँ भनेको थियौँ र आयौँ पनि ।’
एनआरएनएमा राजनीति नगर्न आग्रह
प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली संघको छविलाई कायम गरी संगठनलाई एकताबद्ध राख्न र राजनीतिक टग अफ वार नगर्न आग्रह गर्नुभएको छ । सरकारको तर्फबाट संघमा कुनै हस्तक्षेप नहुने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म अहिले प्रधानमन्त्री छु । म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो । राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो । सरकारको तर्फबाट गैरआवासीय नेपाली संघमा कुनै हस्तक्षेप हुँदैन, गर्दैन । तपाईँहरूले राजनीतिक दलको राजनीति संघमा नगरिदिनू ।’ प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली नागरिकताको कुनै प्रयोग नभएको बताउँदै उपयोगी बनाउन के-के गर्नुपर्ने हो, प्रस्ताव ल्याउन आग्रहसमेत गर्नुभयो । –हिमालय टाइम्सबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्