images
images
  • क्रिकेट करिअरबाट सुवास खकुरेलले लिए सन्न्यास

    काठमाडौं – नेपाली क्रिकेट टोलीका पूर्व ओपनर तथा विकेटकिपर सुवास खकुरेलले आफ्नो खेलकुद करिअरबाट सन्न्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले उक्त घोषणा गरेका हुन् ।

    सन् २०११ डिसेम्बरमा हङकङविरुद्ध डेब्यू गरेका उनले २०२२ जुनमा ओमानविरुद्ध अन्तिम खेल खेलेका थिए । पछिल्लो समय अष्ट्रेलियामा रहँदै आएका उनले सन्न्यास लिएको जनाएका हुन् ।

    ‘मेरो परिवार, सहकर्मी, प्रशिक्षक र समर्थकलाई धन्यावाद दिन चाहन्छु । मैदानबाट टाढा भएपनि क्रिकेट मेरो मुटुमा रही रहनेछ’, उनले लेखेका छन् । एक दशक नेपाली टोलीबाट खेल्नु अविश्वसनीय यात्रा समेत लेखेका छन् ।

    उनले नेपालबाट ६ ओडीआईमा १ अर्धशतकसहित ९७ रन बनाएका छन् । २०१८ अगष्ट ३ मा नेदरल्यान्ड्ससँग ओडीआईमा डेब्यू गर्दा त्यसै वर्ष युएईविरुद्ध कलालाम्पुरमा अर्धशतक हानेका थिए । टी२० आईमा २०१४ मा हङकङविरुद्ध डेब्यू गरेका थिए । उनले ८ टी२० आईमा ११२ रन बनाएका छन् । नेपालबाट उनले १४ लिष्ट ए र १९ टी२० खेल खेलेका छन् ।

    सन् २०१२ मा आईसीसी डिभिजन फोरमा अमेरिकाविरुद्ध ११५ रनको शतकीय इनिङ खेलेका थिए । सन् २०१४ को टी-२० विश्वकपमा अफगानिस्तानविरुद्ध ५३ बलमा ६ चौका र १ छक्कासहित ५६ रन बनाएका थिए ।

    नेपालले २०१४ र २०२४ मा दुई पटक टी-२० विश्वकप खेलेको छ । विश्वकपमा अर्धशतक प्रहार गर्ने उनी हालसम्म एक्लो नेपाली खेलाडी हुन् । विश्वकपपछि भने उनी नियमित नेपालको टोलीमा रहन सकेनन् । हातको चोट र कमजोर लयले टोलीमा आउने जाने भएको थियो ।

    नेपालले पहिलो रोजाईका ओपनर आसिफ शेख र कुशल भुर्तेल दुबै घाइते भएपछि उनलाई २०२२ मा लिग २ मा अमेरिकामा उनलाई नेपालले टोलीमा राखेको थियो । ओमानसँग ३ रनमा आउट भएपछि भने उनी फेरि मौका पाउन सकेनन् । उनले घरेलु क्रिकेट भने नेपाल एपीएल क्लब र बागमती प्रदेशबाट खेले ।

    उनले सन् २०१७ देखि २०२२ सम्म पिएमकपमा १८ खेलमा १ शतकसहित कुल ४९२ रन बनाएका थिए । २०१८ मा मधेशविरुद्ध उनले प्रदीप ऐरीसँग मिलेर दोस्रो विकेटलाई २३१ रनको साझेदारी गरेका थिए । प्रदीपले १५८ र सुवासले १०३ रन जोडेका थिए । उक्त साझेदारी हालसम्म पिएमकपको कुनैपनि विकेटको सर्वाधिक मानिन्छ । समग्रमा सुवास खकुरेल नेपालका एक सफल विकेटकिपर ब्याटरमा पर्दछन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै