सिन्धुपाल्चोक, मेलम्ची । मेलम्ची नगरपालिकाले आगामी जनवरी १ अर्थात पुस १७ गते मेलम्ची नगरपालिका–९ स्थित गुफा डाँडामा पाँचौ जलवायु दिवस आयोजना गर्ने भएको छ ।
नगरपालिकाको मंसिर २८ गते बसेको कार्यपालिका वैठकले प्रथम जलवायु सम्मेलन भएको गुफा डाँडामा सम्मेलनको सम्झना र जलवायु परिवर्तनले पुर्याउने असरको सम्वन्धमा छलफल गर्न दिवस आयोजना गर्न लागिएको हो । दिवसको बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिं लामाले उद्घाटन गर्ने कार्यक्रम रहेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।
२०७५ सालमा जिल्ला समन्वय समिति महासंघको आयोजना तथा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको संयोजनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन गर्नुभएको थियो । उक्त सम्मेलनमा ७७ जिल्लाका जिल्ला समन्वय समिति प्रमुख तथा जलवायु परिवर्तन र वातावरण विज्ञहरुको सहभागिता थियो ।
सोहि बेला जलवायु परिवर्तनलाई संकेत गर्ने स्ट्याचुको अनावरण तथा ७७ जिल्लाको नाम अंकित राष्ट्रिय झण्डा फहराएर सम्मेलन उद्घाटन गरिएको थियो । त्यसपछि लगातार २०७८ सालसम्म जिल्ला समन्वय समिति महासंघले दिवसको आयोजना गरेको थियो ।
महासंघले २०७९ बाट कार्यक्रमलाई निरन्तरता दिन छाडेपछि गत वर्ष मेलम्ची नगरपालिकाले विभिन्न कार्यक्रम गरी दिवसको आयोजना गरेको थियो। जलवायु सम्मेलन भएको पर्यटकीय स्थल गुफा डाँडामा नगरपालिकाले विभिन्न संरचनाहरुको निर्माण समेत गरिरहेको छ ।
समुन्द्रि सतहबाट दुई हजार दुई सय ५० मिटर उचाईमा पर्ने गुफा डाँडामा उक्त दिन सांस्कृतिक प्रस्तुती तथा जलवायु विज्ञको प्रस्तुतिकरण सहितको कार्यक्रम आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्