images
images
  • ख्रीष्टमसको पुर्वसन्ध्यामा पाष्टर जन्मजय भट्टराई पक्राउ

    कैलाली । ख्रीष्टमसको पुर्वसन्ध्यामा धर्म प्रचारको झुठा आरोपमा पाष्टर जन्मजय भट्टराई पक्राउ परेका छन ।

    कैलाली लम्किचुहा नगरपालिकास्थित लम्की सामुदायिक चर्चका पाष्टर भट्टराईलाई मंगलबार बिहान करिब ७ बजे उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।

    पास्टर भट्टराईले ख्रीष्टमसको अवसरमा शैक्षिक सामाग्री, लुगा, झोला वितरण गरी प्रलोभनमा पारेर धर्मपरिवर्तन गर्न खोजेको आरोप छ । उनको पक्राउलाई लिएर स्थानीय चर्च, नगर इसाई समाज, लम्किचुहा नगर जवान समिति, नेपाल राष्ट्रिय ईसाई समाज लगायतका स्थानिय धार्मिक संघसंगठनले विरोध गरेका छन् ।

    पास्टरको पक्राउलाई लिएर आज विभिन्न स्थानिय ख्रीष्टियन संघसंगठनले एक संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको सामूहिक विरोध र खण्डन गर्दै भनेका छन्, ‘हामीले विगत लामो समयदेखि उपहारको पर्व वडादिन ख्रीष्टमसको अवसरमा, लम्कीचुहा क्षेत्रका विपन्न बालबालिकाहरूलाई शैक्षिक संस्थाको औपचारिक पत्राचार र आग्रहमा शैक्षिक सामग्री र अन्य सहयोग प्रदान गर्दै आएको छौँ। यस कार्यको उद्देश्य मात्र समाजमा आर्थिक रूपमा कमजोर वर्गलाई सहयोग पुर्याउने रहेको छ। तर, यसलाई धार्मिक प्रचारको रूपमा चित्रण गर्नु गलत र भ्रामक छ ।’

    विज्ञप्तिमा भनिएको छ,’झोला, लुगा, र अन्य शैक्षिक सामग्री वितरण कार्यक्रमले कुनै पनि प्रकारको धार्मिक मत प्रचार वा आस्था परिवर्तन गर्ने उद्देश्य राख्दैन । यी कार्यक्रमहरू मानवताको सेवा गर्ने उद्देश्यले मात्रै सञ्चालन गरिन्छन् । नेपाल धर्मनिरपेक्ष मुलुक हो हामी सबै धर्महरूको स्वतन्त्रताको सम्मान गर्दछौं कुनै पनि धर्म विशेषको प्रचार विद्यालयजस्तो संवेदनशील स्थानमा गर्न हामी प्रतिबद्ध छैनौं ।’

    नेपाल राष्ट्रिय ईसाई समाजका अध्यक्ष पास्टर चन्द्र बहादुर थापाले भने, ‘स्थानीय पास्टर जन्मजय भट्टराईमाथि लगाइएका आरोपहरू पूर्णतः असत्य र आधारहीन छन् शैक्षिक सामग्री वितरण कार्यक्रमको क्रममा कुनै पनि धार्मिक प्रवचन वा बाइबलको प्रचार गरिएको छैन धार्मिक भावनामा चोट पुऱ्याउने तथा समुदायवीच विद्वेष फैलाउने कुनै पनि गतिविधिलाई निरुत्साहित गर्न हामी सबै जिम्मेवार नागरिकलाई आग्रह गर्दछौं ।’

    लम्किचुहा नगर जवान संगतिका अध्यक्ष पास्टर सन्दिप सार्कीले तथ्यगत र प्रमाणमा आधारित समाचार प्रकाशन गर्न अनुरोध गर्दै यस प्रकारका गलत समाचारहरूले समाजमा रहेका विभिन्न धार्मिक समुदायहरूबीच द्वेष सिर्जना गर्न सक्छन् र हाम्रो बहुसांस्कृतिक समाजको सौहार्दताका लागि हानिकारक हुने बताएका छन् ।

    उनले कसैले हाम्रो कार्यक्रमलाई गलत व्याख्या गर्दै कुनै पनि प्रकारको धार्मिक द्वेष फैलाउने प्रयास गरेको छ भने हामी सम्बन्धित निकायसँग कानूनी रूपमा सहकार्य गर्न तयार छौं र हामी सबैलाई मेलमिलाप, सहिष्णुता, र आपसी सम्मानको भावना विकास गर्न पनि आह्वान गरेका छन् ।

    नेपाल ख्रीष्टियन समाजका महासचिव पास्टर राजेन्द्र मल्लले देश धर्मनिरपेक्ष भएकोले सबै ख्रीष्टियनहरुले पनि आफनो आस्थाको अभ्यास गर्न पाउने, प्रचार प्रचार गर्न पाउने संवैधानिक अधिकार भएकोले ख्रीष्टमस एउटा खुशी र उपहारको पर्व भएकाले सोअवसरमा विपन्न बालबालिका लागि शैक्षिक सामाग्री र झोला वितरण गर्नु कुनै पनि अपराध नभएको बताउनुभएको छ ।

    उनले पाष्टर जन्मजय भट्टराईलाई तत्काल रिहा गर्न स्थानीय प्रहरी प्रशासनलाई आग्रह गर्दै राज्यले धर्मनिरपेक्षताको सहि नमुना प्रकट गर्न र यस्ता घटना दोहोरिन नदिन पनि सम्बन्धीत पक्षसँग आग्रह गरेका छन् ।

    यस्तै, ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालका महासचिव तथा धार्मिक स्वतन्त्रताका अभियन्ता निरोज तोलाङेले ख्रीष्टमसको पूर्वसन्ध्यामा पास्टरको पक्राउले धर्मनिरपेक्षताको उपहास भएको भन्दै विरोध गरेका छन् ।

    उनले पास्टर जन्मजय भट्टराईको तत्काल रिहाईको माग गर्दै अल्पसंख्यक धार्मिक समुदायलाई आतंकित नबनाउन र धार्मिक सद्भाव विथोल्ने कार्य नगर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै