काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज (डिसेम्बर २५) यस समुदायका मानिसले क्रिसमस डे-मनाउँदैछन् ।
आजभन्दा दुई हजार २४ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।
पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिभएका येशु ख्रीष्टले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई मुख्य खुसियाली दिवसका रुपमा मनाउने गरेको ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालका महासचिव तथा धार्मिक स्वतन्त्रताका अभियन्ता निरोज तोलाङेले बताए ।
येशू ख्रीष्टको जन्मोत्सवको अवसरमा देशभरका चर्चहरुमा प्रार्थनासहित शुभकामना आदानप्रदान गरी ख्रीष्टमस मनाइँदैछ ।
ख्रीष्टमसमा इसाई धर्ममा आस्थावान व्यक्तिहरु एक ठाउँमा भेला भई येशूको जन्मको सन्देश एवं उपदेशसँगै ख्रीष्ट जन्म भएको खुशीयालीमा एकआपसमा उपहार आदान–प्रदान गर्ने र देशको शान्ति, समृद्धिको लागि येशूसँग प्रार्थना गर्ने गरिन्छ ।
नेपालमा करीब ४०० वर्षदेखि इसाई धर्मावलम्बीको बसोबास सुरु भएको र त्यतिबेलैदेखि नै क्रिसमस मनाउन थालिएको इतिहास छ ।
येशूख्रीष्टले सर्वसाधारणलाई अन्याय, अत्याचार, विभेदबाट मुक्ति दिलाउन आफैं क्रुसमा चढेकोले उहाँको योगदानको सम्झना गरिन्छ भने त्यसबेलादेखि नै इस्वी संवत् शुरु गरिएको विश्वास छ ।
पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्री सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ ।
पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ । यी स्थानमा येशु ख्रीष्ट जन्मोत्सवका रुपमा क्रिसमस मनाउने तयारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्