images
images
  • चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छ : उपराष्ट्रपति यादव

    काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले चाडपर्वले मुलुकको धार्मिक र सांस्कृतिक विविधता झल्काउँदै आपसी एकता र समझदारीलाई कायम राख्न मद्दत पुग्ने बताएका छन् ।

    ‘क्रिसमस डे’, २०२४ को अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले पर्व/त्योहार र उत्सवहरु व्यापार र आर्थिक गतिविधिका लागि समेत उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

    क्रिश्चियन धर्मका प्रवर्तक इसा मसिहको जन्म भएको दिनका रुपमा हरेक वर्ष डिसेम्बर २५ मा नेपालसहित विश्वभर इसाई धर्मका अनुयायी/धर्मावलम्बीहरुले धुमधामका साथ क्रिसमस मनाउने परम्परा रहिआएको छ ।

    शान्ति, प्रेम र सद्भावको प्रतीक क्रिसमसको धार्मिक, सामाजिक र सांस्कृतिक महत्व छ । यस अवसरमा इसाई धर्मावलम्बीहरुले आ–आफ्नो घरलाई झिलीमिली बत्ती, गुबारा, रङ्गीचङ्गी फूल आदिले सजाउने चलन छ । यो पर्वले साथीभाइ, परिवार र आफन्तबीच शुभकामना तथा उपहार आदानप्रदान गर्ने र विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी रमाइलो गर्ने महत्वपूर्ण अवसर प्रदान गर्दछ ।

    चाडपर्वले सबैलाई एकता, सहिष्णुता र मानवताका मूल्यहरुमा आधारित एउटा समृद्ध र विकसित समाज एवं देश निर्माणमा उत्प्रेरणा प्रदान गर्ने उपराष्ट्रपति यादवले उल्लेख गरेका छन् । उनले क्रिसमसले आपसी सद्भाव, मेलमिलाप, भाइचारा, बन्धुत्वभाव र मैत्रीभावलाई थप प्रगाढ, बलियो र सुदृद्ध बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

    उनले मुलुकको समृद्धि, विकास, सुशासन, दिगो शान्तिका लागि अग्रसर र क्रियाशील हुनका लागि ‘क्रिसमस डे’ ले सबैलाई थप उत्प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै