बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षित सिनेमा ‘जुना’ को फस्टलुक सार्वजनिक भएको छ। यो सिनेमा आगामी माघ २५ गते रिलिज हुनेछ। गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिको ब्यानरमा निर्माण गरिएको यस सिनेमाले समाजमा रहेका विभिन्न कुरीतिहरूविरुद्ध चेतना फैलाउने लक्ष्य लिएको छ।
जीवन सेञ्चुरीको निर्देशनमा तयार भएको यो सिनेमाको फस्टलुकमा मुख्य कलाकार अस्मिता ढकाललाई ग्रामीण परिवेशमा प्रस्तुत गरिएको छ। पोस्टरमा अस्मिता सिन्दुर, पोते र बाला लगाएर, टाढा हेर्दै बसेको देखिन्छ। ग्रामीण संस्कार र परम्परागत जीवनशैली झल्कने यो दृश्यले दर्शकलाई सन्देशमूलक कथा प्रतिको जिज्ञासा थप बढाएको छ। फस्टलुक पोस्टर राकेश दाहालले डिजाइन गरेका हुन्।
सिनेमामा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र बिके, र केशव अधिकारीको अभिनय रहेको छ। निर्देशक सेञ्चुरीले भने, “सिनेमाले बाल विवाह, महिला हिंसा, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, र छाउपडी जस्ता सामाजिक कुप्रथाहरूलाई उठान गर्दै यी समस्याहरूको समाधान खोज्ने प्रयास गरेको छ।”
सेञ्चुरीका अनुसार यो सिनेमा बाल विवाहलाई अपराधका रूपमा चित्रण गर्दै, “बाल विवाहलाई अन्त्य गरौं” भन्ने नारासहित तयार पारिएको छ। सन् २०३० सम्म नेपाल सरकारद्वारा बाल विवाह अन्त्य गर्ने लक्ष्यलाई सघाउन सिनेमाले ठोस योगदान दिने विश्वास गरिएको छ।
पर्वत जिल्लाको सालिजा ओख्रेनीमा छायांकन गरिएको यस सिनेमामा दीपकप्रसाद घिमिरेले लगानी गरेका छन्। सिनेमामा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलका गीत, तथा अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर रहेको छ। रामेश्वर हुमागाईंको छायांकन रहेको सिनेमाको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट, र एफडी कम्पनीले गर्नेछन्।
यो सिनेमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, सांसदहरू, लेखक, तथा समालोचकहरूको लागि विशेष प्रदर्शन गरिएको थियो। उनीहरूले सिनेमालाई सकारात्मक प्रतिक्रिया दिँदै यसलाई समाज परिवर्तनका लागि प्रेरणादायी कदमको रूपमा मूल्यांकन गरेका छन्।
‘जुना’ ले समाजमा रहेका गहिरा समस्याहरूलाई प्रस्तुत गर्दै चेतनाको नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्