images
images
  • राष्ट्रिय एकताको खेती

    सीएन थारु
    इतिहासबाट के सिक्ने ? गोर्खाका राजा पृथ्वी नारायण शाह राज्य विस्तार गर्न युद्ध लड्दै गर्दा हाम्रा पूर्खाहरु के राजीखुशी आफ्नो देश बुझाउने गरे ? अहं, यदि त्यसो हुँदो हो त किर्तिपुरेको नाक कान काटिने थिएन न त लिम्बुवानका शासकसंग नूनपानी सन्धि नै गर्थे । यी त साँकेतिक परिदृष्य मात्रै हुन । जब सुगोली सन्धि सन् १८१६ मा गर्न बाध्य भए पञ्जाबका सेनामा जागीर खान गएका थिए गोर्खाली सेनाका कमाण्डरहरु । यसले पनि के दर्साउँछ त भन्दा पृथ्वी नारायण शाहले जमीन–सेना सम्बन्ध स्थापित गरेर सैनिक कमाण्डरलाई युद्ध जिते वापत जमीन विर्ता पाउने व्यवस्था मिलाए जसले पहाडका गरीब युवाहरुलाई उत्साहित बनाए युद्ध लड्न । अर्थात् राज्य विस्तारको ध्येय सम्पति थियो जहाँ श्रोतका लागि जमीन विस्तार गर्नु थियो ।

    सको दुर्घटनाले संसारको मानचित्रमा एउटा देश नेपाल बनेको छ । यसलाई स्वीकार गर्न कुनै लाज मान्न जरुरी छैन । देशप्रेम यहाँको वस्तुगत अवस्थाले सिर्जना गर्न सक्नुपर्छ । यहाँका तीन करोड जनता मालिक बनाउने तागत निर्माण गर्ने योजनाले विगतका घाउमा मलम लगाउँ भन्ने हो । पृथ्वी नारायण शाहले अज्र्याको मुलुकमा यो सम्भव छ भन्ने विश्वास दिलाउँ । तर, संघीय लोकतान्त्रिक गणतन्त्रमा यो मुलुक पुगेर पनि पशुपति नाथले हामी सबैको कल्याण गरुण भन्ने भाग्यवादी चिन्तन शासक सम्भ्रान्तमा देखिनु पर्ने ? भगवान भरोसे यो देशलाई छाडिराख्ने ? यसखालको भक्तिभावले सेवक जन्माउँछ । अध्यात्ममा सेवक वा भक्तले मुक्ति पाउँछ भन्छन् तर राजनीतिमा यी गुलामी गर्न अभिशप्त छन् । राजनीतिक इतिहासले यहि तथ्य बताउँछ ।

    सयौं वर्ष यहाँका जनता गुलामी गर्दै रहे । साथै देश अंग्रेजको संरक्षण र इसारामा चलिरहेको देखिन्थे । रैती भएर जीवन बाँच्दैगर्दा उनीहरु जहाँनिया शासन फाल्न संघर्ष गरे । वि.सं.२००७ सालसम्म यी संघर्षहरुको लामै फेहरिस्त छ । यस अवधिमा राष्ट्रिय एकताको विषय सन्दर्भहिन थिए कारण दरबारभित्र लुटतन्त्र थियो । त्यसलाई अझ व्यापकता प्रदान गर्न जंगवहादुरले जारी गरेको मुलुकी ऐन थियो । श्री ३ हरु सर्वेसर्वा थिए जहाँ ब्राह्मण, गाई र महिला हत्या वर्जित रहेको मानिन्थे । पुरोहित र भारदारहरुको जमीनदारी देशभरि फैलिएको अवस्था थियो । एक हिसावले जनतासंग कुनै दोश्रो विकल्प नै थिएन ।

    अंग्रेज साम्राज्यको विरुद्ध संसारभरि युद्ध शुरु हुँदा छिमेकी मुलुक भारतमा स्वाधिनताको संग्रामले गाउँ शहर घेरे । अन्ततः अंग्रेज भारत छोडेर गयो । नेपालमा त्यसको असर पर्नु स्वभाविक नै थियो र जहाँनिया राणा शासन विरुद्ध भारतमा अध्ययनरत विद्यार्थीहरुले संघर्ष शुरु गरे । अन्ततः नेपालमा पनि वहुदलीय व्यवस्था स्वीकार गरिए । जनताले ल्याएको शासन व्यवस्थालाई संविधान मार्फत व्यवस्थित गर्न संविधान सभाको गठन गर्ने घोषणा पनि भयो । रैतीबाट मालिक बन्ने पर्खाइमा यहाँ वर्षौं विते । राजनीतिक दलहरु स्थापना भए तर राज्य र जनता विचको मजबुत आधार बन्न नसक्दा यहाँ पृथ्वी नारायण शाहको वंशज रहेका महेन्द्र गदीसिन भए । उनको नारा राष्ट्रिय एकता कर्ण प्रीय लाग्यो । राजाको काम कहिले जाला घाम भने जस्तै चाकरी गर्दै दिन विते । रैती मालिक हुन सकेन । महेन्द्रमाला पढाउने पाठ्यक्रम तयार भयो । श्रीमान् गम्भिर नेपालीबाट स्तुती गान शुरु हुँदै हुर्केका पुस्ता अझै ती भ्रमहरुबाट मुक्त देखिएन । औपनिवेशिकताको शिकार भई अंग्रेजबाट पराजित त्यो मानसिकता राष्ट्रिय एकताको रटानले पक्कै समाधान दिने छैन् ।

    राष्ट्रिय एकता दिवस आवश्यक छ । यसको आवश्यकता अझ वहिष्करण र सिमान्तीकरणमा परेका जनताका लागि छ भन्ने हो । यो मान्यता बोक्दैगर्दा केही भ्रमहरुबाट मुक्त हुनुपर्छ । राज्य विस्तारको क्रममा थुप्रै राजारजौटाले इतिहासमा यहाँ काम गरे । तथापी हामी अहिले पृथ्वी नारायण शाहले गोर्खा राज्य विस्तार गर्दा पहिचान बनाएको नेपाल देशका वासिन्दा हौं । भौगोलिक एकिकरणमा उनको योगदान छ । यसक्रममा संसरमा राज्यविस्तार ताका भएका हत्या, दमन नेपालको इतिहासमा पनि भए । यति भएर पनि हाल नेपाल देशमा नै हामी आफ्नो भाग्य अज्माउनु परेको छ । त्यस अर्थमा पृथ्वी जयन्ति मनाए हुनेमा कसैको विमति नहोला । पृथ्वी नारायण शाह प्रति हालका पुस्ता त्यसरी नै सम्झन चाहन्छन् । बरु राष्ट्रिय विभूति मान्न तयार छन् ।

    राष्ट्रिय एकता दिवसको अर्थ व्यापक बनाउनु परेको छ । संभवतः संविधान सभाले जारी गरेको संविधानले यसको महत्वलाई सिद्ध गर्न सक्थे । तर रैतीबाट मालिक बनाउने काममा यो अवसर गुमाए । त्यसको कारण समेत गोर्खाली राज्यसत्ताले निर्माण गरेको अहंकार थिए । एक थान संविधान त राणा शासनको समयमा वि.सं. २००४ सालमै जारी गरे तर त्यसलाई अमान्य ठहर गरियो । राजनीतिक इतिहासका यस्तै घटनाहरुले नेपालमा आठौं संविधान आवश्यक रहेको महसुस गराउँदैछ । साँचिक्कै राष्ट्रिय एकता दिवसको सार पक्रने हो भने आधुनिक राज्यव्यवस्थामा संविधान नै त्यस्तो चीज हो जस मार्फत राष्ट्रिय एकताको विऊ रोप्न सकिन्छ ।

    संविधान संशोधन गर्न र राजनीतिक स्थायित्व दिन एमाले–काँग्रेस मिलेको भनियो । सवाल संविधान संशोधनको त छ नै तर नीति र नियतको तालमेल मिलेन विगतमा । नीतिगत रुपमा नेपाली जनतालाई मालिक बनाउने भनि जनआन्दोलनमा सबैले सहभागिता जनाए । संविधान सभाको निर्वाचनमा सबैले भाग लिए । उत्साहित र आशा गर्ने ठाउँ बन्यो संविधान सभा पहिलो । षडयन्त्रपूर्वक पहिलो संविधान सभा भंग गर्दै विदेशी हस्तक्षेप निम्त्याउने पनि त यीनै शासक सम्भ्रान्त हुन । प्रष्टै छ हामी हाम्रा आन्तरिक मामिलामा विदेशी हस्तक्षेप स्वीकार गरिसक्यौं । विदेशी शक्तिको गोटी बनेर मात्र शासन सत्तामा टिकी राख्न सक्ने परिवेश निर्माण गर्यौं जसले नेपाल भूराजनीतिक दृष्टीले रणनीतिक स्थान पुष्टी भयो । राष्ट्रिय एकता दिवस मनाउने शासक सम्भ्रान्तहरु यति वेला किंकर्तव्यविमुढ किन ? जनतालाई निरास बनाउने सन्देश हाम्रा देशका प्रधानमन्त्रीले दिन मिल्दैन ।
    अन्त्यमा, संविधान पुनर्लेखन नै समाधानको उपाय हो । संविधान पुनर्लेखन गर्दा पूर्ववत शर्तहरु लागु हुनुपर्छ । उत्तर–सार्वभौम युगमा जनताको सार्वभौमिकता अभ्यामा जाने गरी राजनीतिक व्यवस्था र शासकीय स्वरुप निर्धारण एक चुनौती होला तर यहाँका प्रथम राष्ट्रका जनताहरु जो वर्षौं वहिष्करण र सिमान्तीकरणका पीडा सहेर वसे उनीहरुले स्वीकार गर्ने संविधान आवश्यक छ । त्यसैले विगतका घाउहरुमा मलम लगाउने र उनीहरुको आत्मनिर्णयको अधिकार सुनिश्चित हुने गरी अबको निकास खोजिनु पर्छ ।

    नेपाल प्राकृतिक रुपमै वहुलाराष्ट्रिय राज्य हो । भ्रम नहोस् जनताहरु मालिक बन्ने उपायहरु अनेकौं छन् । नेपालको सन्दर्भमा वहुलराष्ट्रिय राज्यको अवधारणा त्यसैको उपज हो । यसलाई विखण्डनको भाष्य बनाएर गोर्खा अधिराज्यको औपनिवेशिकता छोप्ने दुस्साहस नगर्दा हुन्छ । बरु सहअस्तित्वमा बाँच्ने ढोका खुल्ला राख्न साँस्कृतिक सम्वाद केन्द्रहरु अत्यधिक व्यवस्थापन गर्ने हो जहाँ इतिहास, संस्कृति, धर्म, राजनीतिक अर्थशास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध लगायत जीवन पद्धति बारे जनजनमा छलफल र वहस गर्ने होस् । उनीहरुको बाँच्न पाउने अधिकार ग्यारन्टी गर्दै राज्य मेरो पनि हो भन्ने अनुभूतिपूर्ण आधार त्यसका लागि बन्नुपर्छ ।
    राष्ट्रिय एकता दिवसको सार्थकता यो राज्यसंग जनताको आत्मसातिकरण (soul affinity) संग सम्बन्धित छ ।

    यो दिवस हर्षोल्लास पूर्वक मनाउन सक्नुपर्छ । दुरदराजका जनता पनि यसमा सहभागि भएर देशप्रेम दर्साउन सक्ने गरी राज्यको भूमिका हुने विश्वास लिनु अन्यथा हुँदै होइन । जहाँसम्म पूर्वि नेपालमा चल्दै गरेको विभिन्न आन्दोलनहरु तथा थारु, मधेशी जनताले ठाडै इन्कार गरेको नेपालको संविधान २०७२ जसले राष्ट्रिय एकतामा भाँजो हाल्ने काम मात्रै गरे, कथित राष्ट्रिय एकता दिवस यो अवस्थामा पनि मनाइराख्नु ! असम्भव, राष्ट्रिय एकताको खेती गर्ने ती शासक सम्भ्रान्तले बुझोस् गोर्खाली राज्य औपनिवेशिकता विरुद्धको संघर्ष निर्मम भएर टुंगिनेछ एक दिन । असहज लाग्ला तर यथार्थ यहि हो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै