
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस सोमबार बिहान ११ बजेदेखि थालिने भएको छ ।
आइतबार बिहानदेखि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान सकिएको छ । आइतबार नै थुनछेक बहस सुरु गर्ने भनिए पनि समयभावका कारण हुन सकेन । त्यहीकारण अब सोमबार बिहानदेखि थुनछेक बहस थालिने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी अमरबहादुर चन्दले बताए ।
‘भोलिबाट थुनछेक बहस हुने छ । कति दिनमा बहस सक्नेबारे पनि भोलि छलफल होला,’ चन्दले खबरहबलाई भने, ‘भोलि ११ बजेका लागि इजलास बोलाइएको छ । अब थुनछेक बहस नसकुञ्जेल रविलाई प्रहरीले नै लाने-ल्याउने जिम्मेवारी पाएको छ ।’
चन्दका अनुसार उनलाई काठमाडौं प्रहरी परिसर भद्रकालीले जिम्मा लिएर हिरासतमा लगेको छ । काठमाडौं अदालतमा कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा प्रतिवादी लामिछानेसँग बयान लिइएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर भएका थिए । उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको आरोप छ ।
लामिछाने कास्की प्रहरी हिरासतबाट गत बिहीबार ८४ दिनपछि छुटेका थिए । त्यसपछि उनी आइतबार काठमाडौं अदालतमा हाजिर भएका हुन् । उनलाई परिवारको जिम्मामा छाड्न न्यायाधीशसँग आग्रह गरिएको थियो । तर न्यायाधीश अधिकारीको इजलासले उनलाई पुर्पक्षसम्बन्धी टुंगो नहुन्जेलसम्मलाई छाड्न अस्वीकार गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्