
कैलाली– कैलालीमा नेपाल भारत सीमामा रहेका सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु भएको छ।
बिहीबार कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको उपस्थितिमा नेपाल र भारतका सुरक्षा निकायको सहभागितामा सीमास्तम्भ मर्मत सुरु गरिएको हो। टीकापुर–८ स्थित खक्रौलामा रहेको ७३/२ सीमास्तम्भमा रङरोगन गरी मर्मत सुरु गरिएको छ।
टीकापुर नगरपालिका क्षेत्रमा रहेका सात वटा मुख्य स्तम्भमध्ये ७००, ७०५, ७०७ नम्बरका मात्रै रहेका र अन्य मुख्य र सहायक स्तम्भ कर्णाली र मोहना नदीले बगाएको अवस्था छ। ७०४ सीमास्तम्भ जोखिममा रहेकाले त्यसलाई जोगाउनुपर्ने स्थानीयले माग गर्दै आएका छन्। टीकापुर नगरपालिकाभित्र मुख्य सात वटा सीमास्तम्भ र अन्य सहायक स्तम्भ रहेका छन्।
मर्मत सुरु हुनुअघि कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सीमास्तम्भ दुरुस्त राख्न दुवै देशको दायित्व भएकाले रङरोगन र मर्मत गर्न लागिएको बताए। “दुई देशबीचको साझा मूल्य र मान्यतालाई कायम राख्दै सुरक्षा निकायका बीचमा समन्वयकारी भूमिका निर्वाह गरेका छौँ”, उनले भने, “खुला सिमानाका कारण भन्सार चोरी हुने, नेपालमा अपराध गरी भारतमा लुक्ने र भारतमा अपराध गरी नेपालमा लुक्ने प्रवृत्ति रहेकाले यसरी सिमानामा देखिने आपराधिक घटनामा दुवैतर्फका सुरक्षा निकायले एकअर्कालाई सघाउनुपर्ने आवश्यकता छ।”
प्रमुख जिल्ला अधिकारी हमालले नेपाल र भारतबीच खुला सिमाना भएकाले चोरी निकासीका साथै लागुऔषध दुव्र्यसनीको समस्या विकराल बन्दै गएकाले यसलाई नियन्त्रण गर्न दुवैतर्फका सुरक्षा निकायले चासो दिनुपर्ने बताए।
नेपालका तर्फबाट सशस्त्र प्रहरी बल र भारतका तर्फबाट सीमा सुरक्षा बल (एसएसबी)ले सीमाको सुरक्षा गरिरहेको छ। जोर नम्बरका सीमास्तम्भलाई भारतले र विजोर नम्बरका सीमास्तम्भ नेपालले मर्मतसम्भार गर्नुपर्ने सम्झौताअनुरुप विजोर नम्बर स्तम्भको रङरोगन तथा मर्मतसम्भार गर्न लागिएको हो। कैलालीमा एक सय एक सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गरिने बताइएको छ।
सीमामा कर्णाली र मोहना नदी कटानले बस्ती कटान गर्दै गएको अवस्था छ। नदीले धार परिवर्तन गरेका कारण यहाँ सीमामा रहेका मुख्य र सहायक स्तम्भ केही नदीमा मिसिएको अवस्था छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्