काठमाडौं । संसदका प्रमुख चार दलका प्रमुख सचेतकहरुको बैठकले संसदलाई प्रभावकारी बढाउन सबै दलहरु एकठाउँमा उभिएर काम गर्ने निस्कर्ष निकालेको छ ।
शुक्रवार सिंहदरबारमा भएको प्रमुख समेतकहरुको बैठकले यस्तो निस्कर्ष निकालेको एमाले प्रमुख सचेत महेश बर्तौलाले बताए ।
उनले सरकारले संसदलाई दिएको बिजनेस वा विधेयकहरु छिटो–छरितो ढंगबाट कानून निर्माणको तहमा पुर्याउन संसदीय दलहरुले भुमिका खेल्ने विषयमा छलफल भएको बताए । ‘आजको बैठकमा हामीले विधेयक निर्माणका सन्दर्भमा कसरी अगाडि बढ्नसक्छौं । हामीले साझा ढंगबाट संसदभित्रका कामहरु कसरी प्रभावकारी बनाउन सक्छौं भन्ने विषयमा छलफल चलायौं,’उनले भने,‘सामान्यतया हामी संसदीय काम र प्रक्रियाहरुका सन्दर्भमा समय समयमा छलफल गरेर विधेयकका सन्दर्भमा होस्, कन्टेन्टका सन्दर्भमा र अन्य विषयमा पनि एकमत निर्माण गरेर अगाडि बढ्ने गरेको इतिहास नै छ । र यो नियमित प्रक्रियाभित्र रहेर आज हामीले छलफल गरेका हौं ।’
उनले सरकारले संसदमा ल्याएका विधेयकहरु संसदले पूर्णता नदिँदा वर्षौं होल्ड भएर बस्ने समस्यालाई हल गरेर जान प्रमुख चार दलहरुबीच सहमति भएको बताए ।
उनले कानून निर्माणको सवालमा संसद अब्बल छ भनि प्रमाणित गर्नको लागि आवश्यक छलफल र सहकार्य गर्दै अघि बढ्ने विषयमा समेत छलफल भएको बताए । ‘आम रुपमा हाम्रो आजको बैठकको निश्कर्ष भनेको संसदको प्रभावकारिता हासिल गर्न र विधेयक निर्माणमा संसद अब्बल छ भन्ने कुरा स्थापित गराउनका लागि सिंगो दलहरु एक ठाउँमा उभिएर काम गर्ने निस्कर्षमा पुग्यौैं’ उनले भने ।
बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया दिनुहोस्