images
images
  • स्थानीय तहको निर्वाचन गर्ने अधिकार प्रदेशलाई दिन सकिन्छ : दिनेश थपलिया

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख/उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रश्ताव ऐनमा राखिएको बताएका छन् ।

    शनिवार धुलिखेलमा नेपालमा निर्वाचन सुधारः सुधारका पक्ष, औचित्य र सान्दर्भिकताबारे आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले निर्वाचन आयोगले प्रश्ताव गरेको निर्वाचनसम्बन्धी ऐनमा अबको निर्वाचनबाट स्थानीय तहको निर्वाचनमा प्रमुख/उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै हुनुपर्ने प्रावधान राखिएको बताएका हुन् ।

    उनले प्रत्यक्षलाई नै समावेशी गर्नसके समानुपातिक र प्रत्यक्षको प्रतिशतलाई तलमाथि गर्न सकिने उल्लेख गरे । समानुपातिक भनेको अहिलेको ठूलो उपलब्धि भएको उल्लेख गर्र्दै नेपालको लोकतन्त्र भनेको समावेशी लोकतन्त्र रहेको बताए ।

    समावेशितालाई बाहिर राखेर कुनैपनि कानून बनाउन नसकिने उल्लेख गरे । ‘प्रत्यक्षलाई नै समावेशी गरियो भने समानुपातिक र प्रत्यक्षको प्रतिशतलाई तलमाथि गर्न सकिन्छ । समानुपातिक हटाऔँ भनेर आयोगले भन्ने पनि होइन । अबको कानूनमा पनि छ । स्थानीय तहको निर्वाचनमा प्रमुख/उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै हुनुपर्नेछ भन्ने ऐनमा नै छ । त्यो पास भए आयोगलाई बाध्यता हुन्छ’ उनले भने ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले अहिलेको कानूनले निर्वाचनको अधिकार नै प्रत्यायोजन गर्न नसक्ने अफ्ठ्यारो स्थिति रहेको बताए । उनले छिमेकी देश भारतमा समेत स्थानीय तहको निर्वाचन प्रदेशले गराउने गरेको भन्दै नेपालमा पनि स्थानीय तहको निर्वाचन प्रदेशले गर्नेगरी व्यवस्था गर्न सकिने उल्लेख गरे ।

    स्थानीय तहको निर्वाचन प्रदेश सरकारले गराउने बारेमा आयोगलाई कुनै आपत्ति नरहेको बताए । ‘अहिलेको कानूनबाट हामीले यो चाहीँ स्थानीय तहको चुनाव प्रदेशबाट चुनाव मात्रै गर्ने, केन्द्र र प्रदेशको चुनाव केन्द्रबाट गराउने गरी जान सकिन्छ,’उनले भने ‘यसमा आयोगको कुनै आपत्ति छैन । तर अहिलेको कानून फेर्नुपर्छ । त्यो अहिलेको कानूनमा परेको छैन ।’

    प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दल तथा उम्मेदवारहरुले आचारसंहिता मिच्ने र आयोग त्यसलाई मान्नुपर्छ भनेर छाता बोकेर ओढाउँदै हिँड्ने जस्तो अन्तरसम्बन्ध संसारमा कतैपनि नरहेको जिकिर गरे ।

    उनले प्रत्यक्ष निर्वाचित र समानुपातिकबीच विभेद गर्न नहुने बताए । उनले लोकतन्त्रमा, बहुदलीय व्यवस्थामा आम नागरिकको अल्पमतले शासन गर्नु भनेको दुर्गुण भएको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै