images
images
  • उद्धव थापामाथिको आक्रमणप्रति कांग्रेसको भत्सर्ना

    काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण भएको छ । उनीमाथि शनिबार साँझ कनकाई नगरपालिकाको जुकेखाडी स्थित पूर्वपश्चिम राजमार्गमा आक्रमण भएको हो ।

    आक्रमणबाट थापा घाइते भएका छन् । उनको आँखामा चोट लागेको छ । उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारणसभाबाट फर्कंदै गर्दा उनीमाथि आक्रमण भएको थियो ।

    विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारी चढेको बा.१ झ १८७० नम्बरको गाडीलाई थापा चढेको बा १ झ ६५३ नम्बरकोगाडीले ओभरटेक गर्न खोजेपछि विवाद भएको थियो । थापाको सुरक्षामा खटिएका सुरक्षाकर्मीले ‘भीआईपी’ भनेर जानकारी गराउँदै गर्दा एक युवकले मुक्का प्रहार गरेका थिए ।

    ‘हामी साधारणसभाबाट फर्किदैँ थियौँ,’ कांग्रेस झापा सचिव कृष्ण हुमागाईँले भने, ‘बाटोमा गाडीले छेकिरहेपछि साइड दिनका लागि रिक्वेस्ट गर्‍यौँ । साइड नदिएपछि हामी साइड लिएर अगाडि बढिरहेका थियौँ । अचानक स्पिडमा ल्याएर अगाडि बाटो छेकेपछि सभापतिज्यूले पुनः साइड दिन आग्रह गर्नुभयो । यसै बेला अचानक बक्सिङले हिर्काए ।’

    कुटपिटमा संलग्न भएको भन्दै प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ रहेका छन् । उनीहरूलाई इप्रका बिर्तामोडमा राखिएको छ । नेपाली कांग्रेस झापाले घटनाको निन्दा र भत्सर्ना गरेको छ ।

    कांग्रेसको भत्सर्ना
    कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता उद्धव थापामाथि शनिबारको भएको आक्रमणको भत्सर्ना गरेको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कदै गर्दा कन्काई नगरपालिकाको सुरुंगा नजिक उनीमाथि आक्रमण भएको उल्लेख छ । उनको निधारमा चोट लागेको छ ।

    कांग्रेसले थापाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानुनी कारबाहीको माग सरकारसँग गरेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै