
काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपा एमाले फुटाएर आफूले सही र जायज काम गरेको बताएका छन् ।
ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेको नाम नलिईकनै दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गरेको बताए ।
‘नेपालको राजनीतिमा क्रान्तिकारी धारको रक्षा गर्न र दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गर्यौं र त्यो विद्रोह जायज थियो भन्ने कुरा दिनदिनैका घटनाक्रमहरूले पुष्टि गरिरहेका छन्,’ उनले भने ।
नेपालले एमालेसँग विद्रोह गरेर नयाँ पार्टी बनाएकोमा गौरवबोध गर्ने पनि बताए । ‘हामीले बहुत न्यायोचित र जायज काम गर्यौ’ उनले भने, ‘कम्युनिष्ट आन्दोलनको रक्षा गरेर अगाडि बढाएर लैजानका लागि, आफ्नो क्रान्तिकारी दायित्व पूरा गर्नका लागि एकीकृत समाजवादी गठन गरेकोमा गौरवबोध गर्छौं ।’
अध्यक्ष नेपालले एकीकृत समाजवादीले कुनै पार्टीसँग एकता गर्ने भनेर चलाइएको हल्ला निराधार रहेको जिकिर गरे ।
नेपालले एकीकृत समाजवादी पार्टीलाई नै बलियो बनाउने गरी अगाडि बढ्नुपर्ने बताए । ‘हामी आफ्नो पार्टीलाई बलियो बनाउन चाहन्छौं । सशक्त र प्रभावकारी बनाउन चाहन्छौं’ उनले भने, ‘यसमा कुनै प्रकारका अन्यौल र द्विविधा राख्नुपर्ने आवश्यकता छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्