
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थान कोमामा रहेको भन्दै नाफामूलक कसरी बनाउने भन्नेबारेमा गम्भीर हुन आग्रह गरेका छन् ।
बिहीबार काठमाडौँ नेपाल खानेपानी संस्थानको ३६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले घाटामा रहेको खानेपानी संस्थानलाई कसरी नाफामा ल्याउने भन्नेबारेमा सबैले गम्भीर भएर काम गर्नुपर्ने बताए ।
घाटामा रहेको संस्थानलाई नाफामा कसरी ल्याउने भन्नेबारेमा मन्त्रालय बसेर भएपनि नाफामा ल्याएरै छोड्ने प्रतिबद्धता जनाए । उनले जायज कामहरूका लागि कोमाबाट निकाल्नका लागि मन्त्रालय अघि बढ्नैपर्ने बताए । पाइप फुटेको समस्या, फोहोर पानी आएको गुनासोहरू आम नागरिकले गर्ने गरेको भएपनि समाधान हुन एक महिना लाग्ने गरेको भन्दै तत्काल समस्या समाधान गर्न संस्थानलाई निर्देशन दिए ।
कल सेन्टरको स्थापना गरेर भएपनि जनताका समस्या समयमै समाधान गर्न निर्देशन दिए । उनले सरकारले बनाएका पानी ट्याङ्कीमा नेपाल सरकार खानेपानी मन्त्रालय नलेखिएको भन्दै अबदेखि सबै खानेपानी ट्याङ्कीमा नेपाल सरकार, खानेपानी मन्त्रालय लेख्न निर्देशन दिए । खानेपानी संस्थानलाई नाफामा लैजान गेम चेन्जर कार्यक्रमहरू ल्याउनुपर्ने बताए ।
खानेपानी महसुलमा पुनः विचार गर्नुपर्नेछ : मन्त्री यादव
मन्त्री यादवले खानेपानी सेवा महसुल दरमा पुनः विचार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले पानीको गुणस्तर र परिमाणमा वृद्धि गर्ने, खानेपानी महसुल समयानुसार समयानुकूल गर्ने अहिलेको आवश्यकता रहेको बताए ।
मन्त्री यादवले भने ‘नेपाल खानेपानी संस्थान करिब ११ वर्ष पहिला निर्धारण भएको खानेपानी सेवा महसुल दरमै चलिरहेको छ । बिजुली त पक्कै फ्रि छैन होला । फ्रि छैन भने महसुलमा पनि हामीले विचार गर्नुपर्छ । अब नियमावली पनि आइसकेको छ । त्यसले तपाईँहरूको लागि धेरै चिज बाधाहरू हटेको छ । महसुलमा पनि पुनः विचार गर्नुपर्छ । त्यसको लागि हामीले छलफल चाँडै गर्नेछौँ । पानीको गुणस्तर र परिमाणमा वृद्धि गर्ने, खानेपानी महसुल समयानुसार समयानुकूल गर्ने अहिलेको आवश्यकता पनि हो । यसलाई हामीले आपसमा छलफल गरेर अघि बढ्नुपर्ने छ ।’
मन्त्री यादवले मुलुक बचाउन सबै मिल्नुपर्ने बताए । उनले वैशाखभित्रमा झुम्सा खोलाको पानी बुटवलमा ल्याइसक्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्