images
images
  • मेलम्चीमा पक्की पुल निर्माण सुरु

    रातोपाटीन्यूज, मेलम्ची । भीषण मेलम्ची बाढीले मेलम्ची मोटरेबल पुल बगाएपछि अहिले त्यहाँ नयाँ मोटरेबल पक्की पुल बन्ने भएको छ । हाल बेलिब्रिज रहेको स्थान भन्दा करिब १३ मिटरमाथि नयाँ पक्की पुल निर्माणका लागि डिपिआरसहितको ठेक्का लागेको छ ।

    मेलम्ची नगरपालिका १० र ११ मा निर्माण सुरु भएको उक्त पुलले मेलम्ची–शिखरपुर–पाँचपोखरी जोड्छ । साथै सो पुल हुदै सदरमुकाम चौतारा पुग्न छोटो दुरी पर्छ । पुल निर्माणका लागि नगरपालिका जनप्रतिनिधि, प्रदेश सभा सदस्य, सरोकारवाला निकायहरु जुटेका छन् ।

    २०७८ सालमा भे्रमाथाङ पहिरो मेलम्ची बाढीमा परिणत भएर आएपछि एकै पटक दर्जन संख्याका पक्की पुल, बेलिब्रिज, झोलुंगे पुल बगाएको थियो । मोटरेबल पुल बगाएपछि ह्युमपाइप र बेलिब्रिज राखेर यातयातका साधान संचालनमा ल्याईएको थियो । अहिले सोही स्थानमा पक्की पुल राख्ने कार्य थालनी भएको छ ।

    तत्कालीन बागमती प्रदेश आन्तरिक मामिला तथा अर्थमन्त्री बहादुरसिं लामाको नेतृत्वमा अर्थ मन्त्रालयले आर्थिक बर्ष २०८०÷०८१ को बजेटमा सो स्थानमा पक्की पुल निर्माणका लागि ३७ करोड बजेट बिनियोजन गरेको थियो । तत्कालीन भौतिक पूर्वाधार मन्त्री युवराज दुलालको सिफारिश र बागमती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङको पहलमा उक्त बजेट बिनियोजन भएको थियो । मेलम्ची नगरपालिकाले उक्त पुल निर्माणको लागि पटक–पटक मन्त्रालय र मन्त्रीसंग ताकेता गरेको थियो ।

    बहुबर्षीय योजना अन्र्तगत मेलम्ची नदीमा ११२ मिटर लम्बाई र ११ मिटर चौडाईको मोटरेबल पुल बन्न लागेको हो । जय बिष्णु निर्माण सेवा प्रालिसंग भ्याट बाहेक २५ करोडमा पुल निर्माण सम्झौता भएको छ । आगामी २ बर्षभित्र पुल निर्माण सम्पन्न हुने जनाईएको छ ।

    पुल गुणास्तरीय निर्माण गर्न र निर्धारित समयमा नै सम्पन्न गर्न ठेकेदार पक्षलाई मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले निर्देशन दिनुभएको छ । पुल बनेपछि मेलम्ची नगरपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका लगायत स्थानका हजारौं नागरिकले यातयातका सुविधा पाउने छन् । अहिले उक्त स्थानमा पुल नहुदाँ मेलम्ची नदीमा ह्युमपाइप र बेलिब्रिज राखेर सवारीसाधान आउजाउ गरिदै आइएको छ । बर्षायाम लागेसंगै बाढीले ह्युमपाइप बगाउने गरेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै