images
images
  • परमाणु ऊर्जाको सहाराले हासिल हाेला जलवायु परिवर्तन घटाउने लक्ष्य ?

    काठमाडौं । परमाणु ऊर्जा समर्थकहरू चाहन्छन् कि जलवायु परिवर्तनको समस्या समाधानका लागि बनाइने विश्वव्यापी योजनाहरूमा परमाणु ऊर्जाको भूमिका वृद्धि गरियोस्। तर, परमाणु ऊर्जा सम्बन्धी विषयलाई लिएर धेरै विवादहरू पनि भएका छन् ।

    परमाणु ऊर्जामार्फत बिजुली उत्पादन गर्दा कुनै पनि कार्बन उत्सर्जन हुँदैन। त्यसैले, यसलाई विश्वको तीव्र रूपमा बढ्दो ऊर्जा आवश्यकताहरू पूरा गर्न एउटा समाधानको रूपमा हेरिएको छ।

    यद्यपि परमाणु ऊर्जाले जीवाश्म इन्धनजस्तो प्रदूषण गर्दैन, तर यससँग पनि पर्यावरणसम्बन्धी विभिन्न समस्याहरू जोडिएका छन्। युरेनियम खानीहरूबाट हुने अप्रत्यक्ष उत्सर्जन, प्रदूषित पानी, रेडियोधर्मी फोहोर, र चर्नोबिलजस्ता दुर्घटनाहरूको जोखिम यसका प्रमुख चुनौतीहरू हुन्।

    हालका महिनाहरूमा प्रविधि क्षेत्रका प्रमुख कम्पनीहरू, जस्तै: मेटा, अमेजन, माइक्रोसफ्ट, र गुगलले कार्बन तटस्थता हासिल गर्ने लक्ष्य अन्तर्गत परमाणु ऊर्जामा लगानी गर्ने योजना घोषणा गरेका छन्। जबकि, यी कम्पनीहरूले पहिले नवीकरणीय ऊर्जामा मात्र भर पर्ने प्रतिबद्धता गरेका थिए।

    ग्रीनहाउस ग्यास उत्सर्जन घटाउने र विश्वव्यापी तापमान नियन्त्रण गर्ने समय सीमित बन्दै गएका कारण केही नीतिनिर्माता र वित्तीय संस्थाहरूले पनि परमाणु ऊर्जालाई फेरि प्रवर्द्धन गर्ने पक्षमा समर्थन देखाएका छन्।

    जलवायु परिवर्तन घटाउन परमाणु ऊर्जा कति प्रभावकारी ?

    जर्मनीले आफ्ना अन्तिम परमाणु रिएक्टरहरू बन्द गरेको करिब दुई वर्ष भइसकेको छ। तर, अब देशका प्रमुख विपक्षी दलहरू सीडीयू र सीएसयू परमाणु प्रविधिमा थप अनुसन्धान गर्न माग गरिरहेका छन्।

    यी दलहरूले पहिले बन्द गरिएका परमाणु ऊर्जा संयन्त्रहरूलाई पुनः सञ्चालनमा ल्याउने सम्भावनालाई पनि विचार गर्न चाहन्छन्।

    आगामी फेब्रुअरी महिनामा हुने जर्मन संघीय चुनावलाई ध्यानमा राख्दै, सीडीयू र सीएसयूले आफ्नो चुनावी घोषणापत्रमा उल्लेख गरेका छन् कि परमाणु ऊर्जा ‘विशेष रूपमा जलवायु लक्ष्य र ऊर्जा आपूर्तिको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।’

    सीडीयूका चान्सलर पदका उम्मेदवार फ्रीडरिष मैर्त्स ले जर्मनीले परमाणु ऊर्जा परित्याग गर्नु ‘रणनीतिक गल्ती’ भएको बताएका छन्।

    उनका अनुसार, पहिले बन्द भइसकेका अन्तिम परमाणु रिएक्टरहरू पुनः सञ्चालनमा ल्याउन सकिँदैन। अर्को शब्दमा भन्दा देशका बन्द भइसकेका अन्तिम रिएक्टरलाई फेरि सञ्चालन गर्न सम्भव छैन ।

    यसैबीच, जर्मनीको दक्षिणपन्थी पार्टी ‘अल्टरनेटिव फर जर्मनी’ले पनि ‘टिकाउ र विश्वसनीय ऊर्जा मिश्रण’को रूपमा परमाणु ऊर्जालाई पुनः ग्रहण गर्नुपर्नेमा जोड दिइरहेको छ। पार्टीकी चान्सलर पदकी उम्मेदवार एलिस वाइडेल ले हालै जर्मन ब्रोडकास्टर जेडडीएफ लाई दिएको अन्तर्वार्तामा परमाणु ऊर्जाको ‘कार्बन फूटप्रिन्ट शून्य’ रहेको दाबी गरेकी छिन्।

    यसबीच, सत्तारूढ़ गठबन्धन सेंटर-लेफ्ट सोशल डेमोक्रेट र ग्रीन्स ले परमाणु ऊर्जा तर्फ फर्कने अस्वीकृति जनाएका छन्। वास्तवमा, परमाणु ऊर्जा रिएक्टरको निर्माण कार्य अत्यन्त जटिल हुन्छ र यसमा लामो समय लाग्छ। यस प्रक्रियामा अप्रत्यक्ष रूपमा धेरै कार्बन उत्सर्जन पनि हुन्छ।

    वर्ल्ड न्यूक्लियर एसोसिएशन डब्ल्यूएनएका प्रवक्ता हेनरी प्रेस्टनका अनुसार, हालका वर्षहरूमा नीति निर्माताहरू अझ ‘व्यावहारिक’ बनेका छन्। उनीहरूले ऊर्जा सुरक्षा र जलवायु आपतकालबीच सन्तुलन कायम राख्दै, एकैसाथ ‘विशाल मात्रामा’ स्वच्छ ऊर्जा उत्पादनको सम्भावनासँग साथै परमाणु ऊर्जा संयन्त्रहरूको निर्माणमा वृद्धि भएको लागत र समयलाई पनि ध्यानमा राखिरहेका छन्।

    यद्यपि, पर्यावरणीय समूहहरूले लगातार यो कुरा जोड दिएका छन् कि नयाँ परमाणु परियोजनाहरूमा अत्यधिक लगानी आवश्यक पर्छ। सबै औपचारिकताहरू र अनुमतिहरू प्राप्त गरेपछि यी परियोजनाहरू पूरा हुन लगभग एक दशकको समय लाग्छ। त्यसकारण, जलवायु लक्ष्यहरू हासिल गर्नका लागि यी परियोजनाहरू समयमै तयार हुन असम्भव हुनेछ।

    जलवायु परिवर्तनको विरुद्ध वैश्विक अभियान चलाउने संस्था ‘क्लाइमेट एक्शन नेटवर्क यूरोप’ ले अनलाइन तथ्य जाँचमा भनेको छ, ‘छिटो बदलावको लागि अहिलेका प्रविधिहरू र समाधानहरूको उपयोग आवश्यक छ। उदाहरणका लागि, वायु र सौर्य ऊर्जा जस्ता नवीकरणीय ऊर्जाको उपयोग गर्नु, ऊर्जा बचत गर्ने उपकरणहरूको प्रयोग गर्नु, र मौसमअनुकूल प्रणालीहरूको प्रयोग गर्नु।’

    सन् २०२४ को वर्ल्ड न्यूक्लियर इंडस्ट्री स्टेटस रिपोर्ट डब्ल्यूएनआईएसआर मा भनिएको छ, ‘परियोजना पूरा गर्न लाग्ने समय र लागतको हिसाबले नवीकरणीय ऊर्जा, परमाणु ऊर्जा भन्दा लगातार राम्रो प्रदर्शन गर्दै आएको छ। त्यसैले, अधिकांश देशहरू परमाणु ऊर्जाको सट्टा नवीकरणीय ऊर्जाका स्रोतहरूलाई प्राथमिकता दिइरहेका छन्।’ यस रिपोर्टका अनुसार आगामी दशकहरूमा परमाणु क्षमता बढाउने योजनाहरूलाई ‘अवास्तविक’ भनिएको छ।

    के साना मोड्युलर रिएक्टर सुरक्षित विकल्प हुन् ?

    संयुक्त राज्य अमेरिकामा, अमेजन र गूगल साना मोड्युलर रिएक्टरहरू एसएमआरबाट बिजुली खरिद गर्ने योजना बनाइरहेका छन्। यी साना रिएक्टर घण्ण् मेगावाटभन्दा कम क्षमता भएका उन्नत परमाणु संयन्त्रहरू हुन्। यो क्षमता भनेको सामान्य परमाणु संयन्त्रको लगभग एक तिहाइ हो।

    प्रविधि क्षेत्रमा रहेका यी दिग्गज कम्पनीहरूले भनेका छन् कि परमाणु ऊर्जा कृत्रिम बाैद्धिकता (आर्टिफिसिएर इन्टेलिजेन्स) र डेटा सेन्टरका विशाल ऊर्जा आवश्यकताहरू पूरा गर्न मद्दत गर्नेछ, र यसका साथसाथै, उनीहरूको शुद्ध शून्य जलवायु प्रतिबद्धताहरूलाई पनि पूरा गर्नेछ।

    डाटा सेन्टर र एआई आज संसारको कुल ऊर्जा आपूर्तिको १ देखि ३ प्रतिशत हिस्सा प्रयोग गर्छन्। कतिपय विश्लेषकहरू अनुसार सन् २०३० सम्म यो खपत दोब्बर हुनसक्छ।

    अमेरिकामा कन्स्टेलेसन एनर्जीका सीईओ जो डोमिन्गुएज ले सेप्टेम्बर महिनामा माइक्रोसफ्ट सँग २० वर्षको परमाणु ऊर्जा आपूर्ति सम्झौतासँगै भनेका थिए, डाटा सेन्टरलाई ‘हरेक घण्टामा पर्याप्त मात्रामा कार्बनमुक्त र भरपर्दो ऊर्जा आवश्यकता पर्छ। परमाणु संयन्त्र मात्र यस्तो ऊर्जा स्रोत हो जुन निरन्तर त्यो आवश्यकतालाई पूरा गर्न सक्छ।’

    साना रिएक्टरका समर्थकहरूको भनाइ अनुसार पारम्परिक रिएक्टरहरूको तुलनामा साना मोड्युलर रिएक्टर अधिक सुरक्षित र सस्ता छन्। तिनलाई छिटो चलाउन सकिन्छ र यस्ता स्थानहरूमा बनाइन्छ जहाँ पहिले जीवाश्म इन्धन संयन्त्रहरू थिए। अमेजन र गूगलसँगको साझेदारी अमेरिकाको अनुमान अनुसार सन् २०३० को दशकको शुरुअतसम्म हुने अपेक्षा गरिएको छ।

    अर्कोतर्फ, क्लाइमेट एक्शन नेटवर्कले ‘साना मोड्युलर रिएक्टरहरूु को ‘झुठा वाचाु को विरोधमा आवाज उठाएको छ। जसमा भनिएको कि ‘यस प्रविधिको व्यावसायिक स्तरमा परीक्षण अहिलेसम्म गरिएको छैन।’ विश्वभर, अहिलेसम्म दुईवटा एसएमआर परियोजनाहरू मात्र बनाइएका छन्। ती मध्ये एक रूसी र अर्को चिनियाँ डिजाइनको रिएक्टर हो। यी रिएक्टरहरू सन् २०१९ र २०२१ मा ग्रिडसँग जडान गरिएको थियो।

    जर्मनीको पर्यावरण मन्त्रालयद्वारा आंशिक रूपमा वित्त पोषित डब्ल्यूएनआईएसआर को रिपोर्ट अनुसार यी दुई परियोजनाहरूको निर्माणमा समेत निक्कै ढिलाइ भएको छ। यी परियोजनाहरूलाई पूरा गर्न शुरुमा अनुमान गरिएको समयभन्दा दुईदेखि तीन गुना बढी समय लागेको छ। परियोजनाहरूको लागत पनि बढेको छ र अहिलेसम्म, ती परियोजनाहरूले अपेक्षाअनुसार बिजुली उत्पादन गर्न सकेका छैनन्।

    तर, परमाणु उद्योगका अनुसार ती परियोजनाहरू ढिलाइ हुनु कुनै अचम्मको कुरा होइन। रूस र चीनमा बनाइएका पहिलो एसएमआर (साना संयन्त्र) पाइलट परियोजना थिए। लन्डनस्थित डब्ल्यूएनएका प्रेस्टनले अन्तराष्ट्रिय सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा उनले भविष्यमा जुन परियोजनाहरूमा अहिले काम भइरहेको छ, ती छिटो अनलाइन जान सक्ने सम्भावना रहेको बताउँदै ती परियोजनाहरूबाट बिजुली उत्पादन सुरु गर्न सकिने उल्लेख गरेका छन् ।

    स्वतन्त्र परमाणु नीति विश्लेषक र डब्ल्यूएनआईएसआर रिपोर्टका प्रकाशक माइकेल श्नाइडरले एक ईमेलमा भनेका छन् कि, ‘यो मात्र तब सम्भव हुनेछ जब सबै एसएमआर एकै प्रकारका वा लगभग एकजस्ता बनाइन्छ। रूस र चीन जस्ता भिन्न डिजाइन भएका एसएमआरहरूको निर्माणले यस्तो सम्भव बनाउन सक्दैन।’

    श्नाइडर ले भने कि सौर्य प्यानलहरू, ग्रिडसँग जडान गरिएका ब्याट्रीहरू, र वायु टर्बाइनहरूको उत्पादन तीव्र गतिमा बढिरहेको छ । हरेक वर्ष हजारौं युनिटमा यिनीहरुको उत्पादन भइरहेको छ । यो ‘वास्तविक मोड्युलर निर्माणु को उदाहरण हो, जसले यी उद्योगहरूलाई नयाँ प्रविधिहरू विकास गर्न र लागत घटाउन मद्दत पुर्याउँछ। उनले थप जानकारी दिँदै भने, ‘परमाणु उद्योगले चीन र रूसमा भएका एसएमआर पाइलट परियोजनाहरूबाट बुझेको छ कि कसैले पनि यी परियोजनाहरूलाई दोहोर्याउन चाहँदैन। कुनै पनि पश्चिमी देशमा यी परियोजनाहरूलाई लाइसेन्स दिने प्रयास गरिएको छैन।’

    हामीलाई परमाणु ऊर्जा आवश्यकता कति ?

    दुबईमा सन् २०२३ मा भएको जलवायु शिखर सम्मेलनमा, पहिलो पटक परमाणु ऊर्जालाई ‘ग्रीनहाउस ग्यास उत्सर्जनमा तीव्र र निरन्तर कमी ल्याउनका लागि कम उत्सर्जन भएका आवश्यक प्रविधिहरूमा समावेश गरिएको थियो।

    संयुक्त राष्ट्रको इन्टर गभर्नमेन्टल प्यानल अन क्लाइमेट चेन्ज २०२२ को रिपोर्टमा पनि परमाणु ऊर्जालाई उल्लेख गरिएको छ। जसमा भनिएको छ, ‘संसारका सबै कम कार्बन ऊर्जा प्रणालीहरू पूर्ण रूपमा नवीकरणीय ऊर्जा स्रोतहरूमा निर्भर रहन सक्दैनन्।’

    यद्यपि, यो स्वीकार गरिएको छ कि वायु र सौर्य ऊर्जाले जीवाश्म इन्धनलाई बदल्नमा प्रमुख भूमिका खेल्नेछन्, तर ऊर्जा विश्लेषकहरूका अनुसार नवीकरणीय ऊर्जा सधैं उपलब्ध रहन सक्दैन। वीकरणीय ऊर्जा सूर्यको प्रकाश र हावाको उपलब्धतामा निर्भर गर्दछ।

    दुबईमा भएको जलवायु सम्मेलनपछि, फ्रान्स, ब्रिटेन, अमेरिका र जापान जस्ता ठूला परमाणु सम्पन्न राष्ट्रसहित ३१देशहरूले सन् २०५० सम्म आफ्नो परमाणु ऊर्जा क्षमता तीन गुणा बढाउने प्रतिबद्धता जनाएका छन्। अल साल्वाडोर, जमाइका, मोल्डोभा र मङ्गोलिया जस्ता केही अन्य देशहरूले पनि यस्तै वचन दिएका छन्। यद्यपि, पछिल्लो पाँच वर्षमा परमाणु रिएक्टरहरूको निर्माण सुरु गर्ने चीन र रूसले यस्तो कुनै वाचा दिएका छैनन्।

    डब्ल्यूएनआईएसआर सन् २०२४ को रिपोर्टमा यी प्रतिबद्धताहश्र पूरा हुनेमा शंका व्यक्त गरिएको छ। रिपोर्टमा कयौं अवरोधहरू उल्लेख गर्दै यसमा धेरै लागत, निर्माणमा लाग्ने बढी समय र औद्योगिक क्षमताको कमी समावेश छ। रिपोर्टमा भनिएको छ कि वर्तमान क्षमता तीन गुणा बढाउनका लागि १००० भन्दा बढी नयाँ रिएक्टरहरूको आवश्यकता हुनेछ।

    श्नाइडरले डिसेम्बर सन् २०२३ मा ‘बुलेटिन अफ द एटमिक साइन्टिस्ट्सुलाई दिएको अन्तर्वार्तामा भनेका छन्, यद्यपि साना मोड्युलर रिएक्टरहरू बाट धेरै ऊर्जा प्राप्त गर्न सकिन्छ, तर यस लक्ष्यलाई प्राप्त गर्नका लागि ‘सयौं वा हजारौुं यस्ता रिएक्टरहरूको निर्माण गर्नुपर्नेछ।

    (विभिन्न अन्तराष्ट्रिय समाचार एजेन्सीहरुको सहयोगमा पूर्वाधार वाचकर्मी विष्णु रैगाईंले तयार पारेको सामग्री)

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै