images
images
  • सूर्य थापाले बहुदलीय प्रणालीको मूलभावनाविपरीत असमावेशी कार्य गरेकोमा प्यूठान कांग्रेसको आपत्ति

    काठमाडौं । नेकपा एमालेका नेता सूर्यबहादुर थापाका व्यवहार र गतिविधिप्रति नेपाली कांग्रेस प्युठानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य थापाका हालैका गतिविधिप्रति कांग्रेस प्युठानले गम्भीर आपत्ति जनाएको हो ।

    पार्टी सभापति विष्णु गिरीले शुक्रबार विज्ञप्ति जारी गर्दै सांसद थापाले अनपेक्षित चुनावी जितको प्रभावमा रहेर फरक विचार राख्ने व्यक्तिहरूप्रति अनावश्यक आक्रमक व्यवहार देखाएको आरोप लगाइएको छ । बहुदलीय प्रणालीको मूलभावनाविपरीत असमावेशी प्रवृत्ति प्रदर्शन गरेको कांग्रेसको दाबी छ ।

    सांसद थापाले जिल्लाकी समानुपातिक सांसद निमा गिरीको आतिथ्यमा हुने कार्यक्रममा ब्यानर टाँस्न रोक लगाएको, कर्मचारीलाई धम्की दिएको र सरुवाको डर देखाएको जस्ता गतिविधि गरेको कांग्रेसले जनाएको छ । यस्ता कार्यहरू लोकतान्त्रिक मर्यादाविपरीत रहेको भन्दै कांग्रेसले गम्भीर आपत्ति जनाएको हो ।

    कांग्रेसले थापालाई समानुपातिक सांसदहरूको भूमिका नकार्ने, जनतासँगको प्रत्यक्ष संवादलाई व्यंग्य गर्ने र प्रदेश सांसदको पहलमा आएको विकास बजेटको अवमूल्यन गर्ने कार्य नगर्न चेतावनी दिएको छ । सांसद थापाको अभिव्यक्ति संविधानको समावेशी र समानुपातिक मर्ममाथिको आक्रमण भएको कांग्रेसको ठहर छ ।

    ‘प्युठानका जनप्रतिनिधिहरू आफ्ना मतदातासँग सम्पर्क गर्न सूर्य थापाको अनुमति लिनुपर्ने हो ?’ भन्दै कांग्रेसले सत्ता साझेदार दलहरूको सम्बन्ध विगार्ने गतिविधि रोक्न आग्रह गरेको छ । पार्टीले भविष्यमा यस्ता गलत अभिव्यक्तिहरू नदिन सांसद थापालाई सचेत गराएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै