
काठमाण्डौँ । समाजवादी प्रेस संगठन नेपालको अध्यक्षमा नेपाली पत्रकारिताका धरोहर शम्भु श्रेष्ठ चयन भएका छन्।
संगठनको दोस्रो राष्ट्रिय भेलाले वरिष्ठ पत्रकार श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो। यस्तै महासचिवमा रोहित दाहाल, कोषाध्यक्षमा भरतराज पोखरेल र केन्द्रीय उपाध्यक्षमा ह्दय भुसाल सर्वसम्मत चयन भएका हुन्।
तत्कालीन अध्यक्ष विश्वमणि सुवेदी, महासचिव रामकुमार एलन र कोषाध्यक्ष कृपा भण्डारीसमेत प्रेस चौतारीमा प्रवेश गरेपछि श्रेष्ठ अध्यक्ष चयन भएका हुन्। कार्यसमितिमा अरू साविककै पदाधिकारी र सदस्यले निरन्तरता पाएका छन्।
अध्यक्ष श्रेष्ठले फागुन ३ गते शनिवार सम्पन्न केन्द्रीय बैठकमा उपस्थित केन्द्रीय कमिटी सदस्यहरुको उत्साहले समाजवादी प्रेस संगठन चलायमान छ भन्ने सन्देश दिएको र आज ४ गते आइतबार सम्पन्न दोस्रो राष्ट्रिय भेलाले माहुरीको जस्तो श्रम गर्ने र एकजुट हुने व्यक्तिहरु यस संगठनमा रहेर काम गर्न देशभरबाट तयार भएकोमा खुशी व्यक्त गर्नुभएको छ। भेलाले १० बुँदे घोषणापत्रसमेत जारी गरेको छ।
१० बुँदे जारी घोषणापत्रमा यस्तो लेखिएको छ :
समाजवादी प्रेस संगठन, नेपाल
दोस्रो राष्ट्रिय भेला
घोषणा पत्र २०८१
सर्वप्रथम प्रजातन्त्र, लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता प्राप्तिका निम्ति सहादत प्राप्त गर्नुहुने ज्ञात, अज्ञात शहिद तथा सञ्चारकर्मीहरूप्रति प्रगतिशील तथा श्रमजीवि पत्रकाररूको संगठन समाजवादी प्रेस संगठन नेपाल भावपूर्ण श्रद्वाञ्जली व्यक्त गर्दछ ।
१. अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई नियमनको नाममा कठोर नियन्त्रणगर्ने सामाजिक सञ्जाल विधेयक तत्काल फिर्तागरी नेपाल पत्रकार महासंघ, समाजवादी प्रेस संगठन नेपाललगायत संघ संगठनहरूको सहभागितामा विधेयक परिमार्जन गर्न सरकारसँग माग गर्दछ ।
२. हाम्रो गौरवशाली संगठनलाई केही अपराधिक मानसिकता बोकेका व्यक्तिले कुनै अर्को संगठनमा विलय गराउन खोज्ने प्रयास गरेकोमा संगठन तिनको घोर भत्सना र निन्दा गर्दछ । साथै हाम्रो संगठन एकजुट र मजबुत रहेको कुरा अवगत गराउदै अपराधिक मनसाय बोकेकाहरूको भ्रममा नपर्न आम जनसमुदाय, सञ्चारकर्मी साथिहरूमा अनुरोध गर्दछ ।
३. संसदको हिउँदे अधिवेशन छलेर सरकारले लोकतन्त्रलाई कमजोर पार्ने, कानूनी राज्यको उपहास गर्ने र भ्रष्ट्राचारी, विचौलियालाई पोस्ने खालका अध्यादेश यथाशक्य फिर्तागरी परिमार्जनसहित पुनः संसदमा पेशगर्न यो भेला सरकारसँग माग गर्दछ ।
४. पूर्ण प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता, मानवअधिकारको रक्षा, भ्रष्टचार नियन्त्रण जस्ता कुराहरूमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णतः असफल रहेको भेलाको ठहर छ । साथै समाचार प्रकाशन तथा प्रसारण गरेकै कारण विभिन्न व्यक्ति, समूह, गिरोह र संस्थाबाट हुने प्रेस स्वतन्त्रता विरोधी क्रियाकलापलाई राज्यले नियमन, नियन्त्रण र कानून बमोजिम सजाय गरोस् भन्ने भेलाको माग छ ।
५. नयाँ मिडिया ९लभध mभमष्ब० का नाममा खोलिएका सामाजिक सञ्जालमार्फत प्रसारित सामग्रीहरूको सत्य, तथ्य, विश्वसनीयताप्रति पूर्ण जानकार रही धारणा बनाउन र सतही सूचनाको पछि नलागी असल नागरिकको परिचय दिलाउन आम जनसमुदाय, नागरिक समाज, बुद्धिजीवी, पाठक स्रोतालगायतमा संगठन हार्दिक अनुरोध गर्दछ । साथै मूल धारका सञ्चारमाध्यमले सुशासन, विकास र समृद्धिका पक्षमा निर्भीकतासाथ आफ्नो दायित्व पूरागर्नेमा हाम्रो संगठन विश्वस्त रहेको छ ।
६. आम सञ्चारमाध्ययममा अधिकांश श्रमजीवी पत्रकारहरूले काम सुरू गरेको लामो समयसम्म पनि नियुक्ति पत्र नपाएको, पारिश्रमिक नपाई श्रम शोषणमा परिरहेको घटनाप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । साथै वेतलवी विदामा राख्ने, पुनः काम वा जिम्मेवारीमा नफर्काउने तथा बिचमै जिम्मेवारीबाट हटाउने, निष्काशन गर्ने जस्ता कार्यहरू अन्त्य गर्न सम्बन्धित सञ्चारगृहलाई संगठन आग्रह गर्दछ ।
७. प्रेस काउन्सिललगायत राज्यका विभिन्न सञ्चारसँग सम्बन्ध निकाय, पत्रकार महासंघसमेतका निकायमार्फत प्रदान गरिने पुरस्कार सम्मान, शोधवृत्ति, तालिम, पशिक्षणलाई समावेशिता र निश्पक्षताका आधारमा सञ्चालन एवं वितरण गर्न सम्बन्धित पक्षसँग भेला अनुरोध गर्दछ ।
८. सञ्चारगृहलाई लैङ्गीकमैत्री बनाउन र महिला पत्रकारमाथि हुने हिंसाजन्य कार्यका विरूद्धमा संगठन रहेको र कार्यस्थललाई स्वस्थ, मर्यादित राख्न सम्वद्ध पक्षसँग माग गर्दछ ।
९. कोभिड–१९, आर्थिक मन्दीलगायतका समस्याका कारण साना तथा स्वरोजगार मुलक मिडियाहरू केही बन्द भइसकेको र केही बन्द हुने अवस्थामा छन् । त्यस्ता मिडियालाई दृष्टिगत गरी राज्यले नीति, योजना र कार्यक्रममार्फत सम्बोधन गर्न भेला सरकारसँग माग गर्दछ ।
१०. निहित उद्देश्य बोकेका व्यक्तिहरूको भ्रामक क्रियाकलापमा नपरी संगठनलाई शुद्धीकरण र सदृढिकरणको अभियानमार्फत संगठनप्रति प्रतिवद्ध रही नेपाली पत्रकारिताको वृहत हित, प्रवर्दनका साथै नेपाली कम्युनिष्ट एवं समाजवादी आन्दोलनलाई नयाँ उचाई दिने काममा जुटिरहनु भएका संस्थापक, सल्लाहकार, केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश र जिल्ला तहमा आवद्ध प्रगतिशिल समाजवादी क्रान्तिकारी सहयोद्धा साथीहरूप्रति कृतज्ञता प्रकट गर्दै संगठनको दोस्रो भेलालाई भव्यताका साथ सम्पन्न गर्नुका साथै, सहयोग र हौसला प्रदान गर्ने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
लेखन कमिटी
श्याम रिमाल–संयोजक
भरत पोखरेल
उत्तर बिष्ट
धनराज वास्तविक
रमा न्यौैपाने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्