images
images
  • सरकारको कुशासनको फाइदा उठाएर व्यवस्थाबिरोधी अभियान चलाइयो : माओवादी केन्द्र

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संघीयता मन नपराउनेहरुले सरकारको कुशासनको फाइदा उठाएर अहिले व्यवस्था विरोधी अभियान चलाएको आरोप लगाएको छ ।

    सोमवार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो आरोप लगाएको हो ।

    पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा आइतबार जम्मा भएको भीडप्रति लक्षित गर्दै माओवादीले सरकारका नराम्रा कामहरूको फाइदा उठाएर व्यवस्थाबिरोधीहरुले अभियान सञ्चालन गरेको आरोप माओवादीको छ ।

    बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा तराई/मधेस अभियानको प्रारम्भिक समीक्षा, वर्तमान राष्ट्रिय राजनीति परिस्थिति र स्ववियु निर्वाचनको बारेमा छलफल भएको बताए ।

    उनले अभियानले झापादेखि रौतहटसम्म आइपुग्दा जनतामा नयाँ खालको जागरण पैदा गरेको दाबी गरे । उनले माओवादी नै परिवर्तनको संवाहक भएको दाबी गर्दै केही समय जनताप्रति बेवास्ता भएको कुरा स्वीकार गरेपछि पार्टीप्रति जनता धेरै आकर्षित र आशावादी रहेको जिकिर गरे ।

    जनताका अपेक्षा, आशा पूरा गर्न हामी सदन, सडकमा प्रभावकारी बनाउने पनि निर्णय भएको बताए ।
    उनले भने, ‘अभियानको प्रारम्भिक समीक्षा भयो । वर्तमान राष्ट्रिय राजनीति परिस्थितिबारे छलफल भयो । स्ववियु निर्वाचनको बारेमा पनि छलफल भयो । झापादेखि रौतहटसम्म आइपुग्दा जनतामा नयाँ खालको जागरण पैदा भएको छ । परिवर्तनको संवाहक पनि भएको र केही समय जनताप्रति बेवास्ता भएको कुरा हामीले राखिसकेपछि जनता धेरै आकर्षित र आशावादी भएका छन् । एक प्रकारको लहर नै पैदा भएको छ । अभियान निकै प्रभावकारी भएको छ । बहुआयामिक सन्देश छोडेको छ । हामीले सयौँ कार्यक्रम गरेका छौँ । जहाँ गयौँ त्यहाँ अमिट छाप छोडेका छौँ । जनताका अपेक्षा, आशा पूरा गर्न हामी सदन, सडकमा प्रभावकारी बनाउने निर्णय भएको छ । राष्ट्रिय राजनीतिक परिस्थितिमा भन्दा प्रतिगामीहरू अलिकति सल्बलाएका छन् । तर जनतालाई निकै प्रभाव परेको छैन । पहिलादेखि चाहनेहरूले केही आशा गरेको पाइयो तर नेपाली जनता लोकतन्त्रको पक्षमा छन् । लोकतन्त्रलाई अझ विकसित, सुदृढ गर्नुपर्छ भन्नेमा हुनुहुन्छ ।’

    माओवादीले सरकार सबै खाले काममा अहिले असफल भएको निष्कर्ष निकालेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै