
बुटवल । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राजनीतिलाई सही दिशामा लैजान संसद्का तीन ठुला दलका नेतृत्वलाई मिल्न प्रस्ताव गरेका छन् ।
वर्तमान सङ्कटबाट बाहिर निस्कन प्रधानमन्त्री केपी शर्मा ओली, काङ्ग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एक ठाउँमा उभिन भुसालले आग्रह गरेका हुन् ।
राजनीतिलाई सही दिशा दिन नसक्दा पुनरुत्थानवादी शक्तिहरू सलबलाएको टिप्पणी गर्दै उनले राजनीतिक हस्तक्षेपको बेला आएको बताए ।
बुटवलमा आयोजित कार्यक्रममार्फत उनले तीन दलका शीर्ष नेतालाई दम्भ र घमण्ड त्याग्न अपिल गरे । तीन शीर्ष नेता नमिले देशमा दुर्दशा हुने खतरा रहेको भुसालको भनाइ छ । ‘ओली, प्रचण्ड, देउवा कान खोलेर सुन । यो सङ्कट यसै जानेवाला छैन,’ भुसालले भने, ‘रोजगारी र सुशासन कायम गर्ने ग्यारेन्टी गर्ने एजेन्डामा आउनुस् ।’
राष्ट्रिय एजेन्डामा आउन आग्रह गर्दै भुसालले १० वर्षमा रोजगारी सृजना गरी राष्ट्रिय पुँजीको विकास गर्ने र मुलुकमा भ्रष्टाचार नगर्ने गरी सर्वदलीय सम्मेलन गर्नुपर्ने प्रस्ताव भुसालको छन् ।
‘राजनीतिले राजनीति, राज्यले दायित्व बिर्सेपछि उल्का हुने गर्छ,’ भुसालको भनाइ छ, ‘रोजगारी र सुशासन नै अबको आन्दोलन हो । हामी त्यसैका लागि आन्दोलनको मैदानमा होमिएका छौँ ।’ हण्डर ठक्कर खाएपछि सबै एकै ठाउँमा आउने उनको जिकिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्