
काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसरमा युथ समिट गर्ने भएको छ ।
आइतबार बसेको सचिवालय बैठकले ९ वैशाखमा युथ समिट गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
‘उक्त समिटमा ४० वर्ष मुनिका ६ हजार युवाहरुको सहभागिता रहने छ’ विज्ञप्तिमा उल्लेख छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अवरोधका कारणले प्रतिस्थापन विधेयक पारित गर्ने प्रक्रियामा व्यवधान सिर्जना भइरहेको प्रति ध्यानाकर्षण भएको जनाउदै संविधान र कानुनको व्यवस्थाअनुरुपको कार्यसम्पादनमा उत्पन्न बाधा हटाउन प्रतिपक्षी दलहरुलाई अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले सरकारी विधेयकलाई संविधान र कानुनको व्यवस्थाअनुरुप सम्पादन गर्ने कर्तव्यतर्फ राष्ट्रियसभाका अध्यक्ष र प्रतिनिधिसभाका सभामुखको समेत ध्यानाकर्षण गराएको छ ।
एमाले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गर्दै सबै राजनीतिक दल, नागरिक समाज तथा आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै बैठकले राजावादीका नाममा काठमाडौँँको तीनकुने, कोटेश्वर, जडिबुटीलगायतका क्षेत्रमा अपराधिक समूहले देखाएको उद्दण्डता, अराजकता, तोडफोड, लुटपाट, हत्या र हिंसाका घटनालाई अत्यन्त गम्भीर रूपमा लिँदै त्यसको निन्दा तथा भ्रत्सना गरेको छ ।
शान्तिपूर्ण प्रदर्शनका नाममा सवारीसाधनको प्रयोग गरी सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी–जानी हिंसा र आतङ्क सिर्जना गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्नेजस्ता अराजक र आपराधिक क्रियाकलापको छानविन गरी दोषीउपर तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकषर्ण गराइएको विज्ञप्तिमा उल्लेख छ ।
एमालेले प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरुका परिवारजनमा समवेदना तथा घाइतेको शीर्घ स्वास्थ्यलाभको कामना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्