
काठमाडौं । फरार अवस्थामा रहेका राजावादी अभियन्ता दुर्गा प्रसाईंले सुरक्षा ग्यारेन्टी गरिएको खण्डमा २४ घण्टाभित्रै सार्वजनिक हुने घोषणा गरेका छन् ।
गुप्त स्थानबाट बुधबार राति नयाँ भिडिओ सन्देश जारी गर्दै उनले १५ गतेको घटनामा मृत्यु भएका पत्रकार सुरेश रजक र सविन महर्जनका परिवारलाई ५–५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने जानकारी दिएका छन् ।
‘मेरा वकिलहरू टङ्क दुलाल, सुशील पन्त, रमण श्रेष्ठ, सुरेन्द्र भण्डारी, स्वागत नेपाल, ध्रुवलाल श्रेष्ठ, भीमार्जुन आचार्यलगायत र मानवअधिकारवादीको रोहबरमा भोलि नै उपस्थित हुन तयार छु । म नेपालकै कुनै ठाउँमा छु । सार्वजनिक हुन्छु । मेरो जीवनको ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छु,’ सन्देशमा प्रसाईंले भनेका छन् ।
उनले आफूबाट नेतृत्व हत्याउने कोसिस भइरहेको आरोप लगाएका छन् ।
‘म भागेको छैन । म जोगिएकोमात्र हो । त्यो दिन कस्ता–कस्ता मान्छेले घरका छतबाट कसरी ताकेका रहेछन् भन्ने भिडिओ बाहिर आइरहेका छन् । म भाग्न जन्मेको होइन । विवश भएर हो । प्रचण्ड, केपी ओली र अर्को राजावादी हुँ भन्ने पार्टीकै व्यक्ति बसेर १५ गतेको आन्दोलनलाई डिसमिस बनाउनुपर्छ, दुर्गा प्रसाईंलाई पागल, जोकर बनाउनुपर्छ भनेर निर्णय गरेका रहेछन् । मबाट नेतृत्व हत्याउने कोसिस भइरहेको छ । तर म अरु ऊर्जा र उमङ्गका साथ, नयाँ योजनाका साथ आउँदैछु,’ उनले भनेका छन् ।
प्रसाईंको सचिवालयको फेसबुक पेजबाट भिडिओ सार्वजनिक भएको हो । साढे आठ मिनेट लामो भिडिओमा प्रसाईंले आफू नेपालमै रहेको दाबी गरेका छन् ।
यसअघि पनि प्रसाईंले चैत १७ गते भिडिओ सन्देश जारी गर्दै आफ्नो कार्यक्रममा युवा सङ्घका कार्यकर्ता र सादा पोसाकका प्रहरीले घुसपैठ गर्दा अप्रिय घटना घटेको दाबी गरेका थिए ।
हेरौँ भिडिओ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्