
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, पर्साले शनिबार साँझदेखि लागू गरिएको कर्फ्यू आइतबार राति १२ बजेदेखि हटाउने निर्णय गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालका अनुसार, शान्ति सुरक्षा अवस्थाको समग्र मूल्यांकन गर्दा परिस्थिति सुधारोन्मुख देखिएकाले सर्वपक्षीय छलफलपछि कर्फ्यू हटाउने निर्णय गरिएको हो ।
प्रजिअ अर्यालले भने, ‘वर्तमान अवस्थामा शान्ति सुरक्षाको स्थिति क्रमशः सुधार हुँदै गएकाले कर्फ्यू आदेशलाई निरन्तरता दिन आवश्यक नरहेको ठहर गरिएको छ ।’
तर, अवस्था पूर्ण रूपमा सामान्य नभएको भन्दै वीरगञ्ज महानगरका केही सीमित क्षेत्रहरूमा निषेधाज्ञा भने जारी राखिएको छ । गण्डक चोक, सिर्सियापुल, बाइपास रोड र शङ्कराचार्य गेट आसपासको क्षेत्रमा वैशाख १ गतेदेखि अर्को आदेश नआएसम्म भेला, सभा, जुलुस वा कुनै प्रकारका प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३क) अनुसार निषेधाज्ञा लागू गरिएको छ ।
प्रजिअ अर्यालले आदेश उल्लङ्घन गर्नेहरूमाथि कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिएका छन् । शनिबार साँझ दुई समूहबीचको झडपपछि सुरक्षाको कारण कर्फ्यू लगाइएको थियो, जुन शनिबार साँझ ६:३० बजेबाट सुरु गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्