
ठोकर्पा : नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका पास्टर हनोक तामाङले ख्रीष्टियनहरुले धर्म परिवर्तन होइन्, जीवन परिवर्तन गरिरहेको बताएका छन् ।
सुनकोशी गाँउपालिका इसाई समाजद्धारा ठोकर्पाको कर्भड हलमा वैशाख ७ गते आइतबार आयोजित पुनरुत्थान तथा इस्टर महोत्सवलाई सम्बोधन गर्दै पास्टर तामाङले येशूलाई पछ्याउनु भनेको धर्म परिवर्तन नभई जीवन परिवर्तन भएकोले व्यक्तिको स्वभावमा र विचारमा रुपान्तरण आएमात्र देशमा परिवर्तन हुने बताएका हुन् ।
उनले संविधानले नै धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गरिसकेको परिप्रेक्षमा राज्यले मुलुकमा रहेका सबै धार्मिक समुदायलाई समान व्यवहार गर्नु पर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि सुनकोशी गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमिल्सिनाले इस्टरको शुभकामना दिनुहुँदै पालिकाले धर्मका कारण कसैमाथि विभेद नगर्ने र समाजमा धार्मिक सद्भाव सहिष्णुता कायम गर्दै सबै धर्म आस्था समुदाय मिलेर पालिकाको विकासमा योगदान गर्नुपर्ने बताउनुभयो ।
उनले आफनै कार्यकालमा रातो किताबमा नै ख्रीष्टियनहरुलाई समेटेकोले पालिकाभर ख्रीष्टियन धार्मिक समुदायको मागलाई आवश्यक सम्बोधन गर्ने कुरामा आफू प्रतिवद्ध रहेको बताए ।
कार्यक्रमका विशेष अतिथि सुनकोशी गाउँपालिकाका पुर्वअध्यक्ष श्रवण जि.सी.ले इस्टरको शुभकामना दिनुहुँदै आफनो कार्यकालमा नै सुनकोशी गा.पा. २ मा ख्रीष्टियन आस्था भएकाहरुकोे मृत्यू हुँदा आफनो संस्कृति र परम्परा अनुसार दफन गर्नका लागि समाधिस्थलको लागि जग्गाको व्यवस्था गरेकोले ख्रीष्टियन धार्मिक समुदायको साँस्कृतिक उत्थान, विकास र समृद्धिको सरोकारमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति पालिका समाजका अध्यक्ष दिपक जी.सी.ले नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेतापनि इसाईहरुलाई राज्यले दोस्रो नागरिकसरह व्यवहार गरेकोले पालिकाभर ख्रीष्टियन आस्थाका भएकाहरुको सुरक्षा, चौतर्फ विकास र सम्वद्र्धनमा आवश्यक कार्ययोजना बनाई कार्यन्वयन गर्न सबै जनप्रतिनिधहरुलाई आग्रह गर्नुभयो ।
शान्ति प्रार्थना पदयात्रामा विभिन्न स्थानीय चर्चबाट पुनरूत्थान सम्बन्धी आशामूलक सन्देशहरू लेखिएको संयुक्त व्यानर र प्लेकार्डहरू लिएर शान्ति प्रार्थनामा सहभागी हुदैँ हर्षका साथ भजन गीतहरू गाउँदै, नाच्दैँ पुनरूत्थान महोत्सवमा सहभागी भएका थिए । कार्यक्रममा सुनकोशी पालिकाका विभिन्न वडा अध्यक्ष तथा पालिका सदस्यहरु, विभिन्न पालिकाबाट चर्चका विश्वासीहरु गरी एक हजार जनाको सहभागीता रहेको थियो ।
वि.सं.२०४६ सालमा भएको जनआन्दोलन सफल भई प्रजातन्त्र पुनः बहाली भएसँगै नेपालमा रहेका ख्रीष्टियनहरूले इस्टर सण्डे अर्थात ख्रीष्ट पुनरुत्थानको अवसर पारी हरेक वर्ष देशका विभिन्न ठाउँमा विभिन्न सुसमाचारीय -यालीका साथै सभा तथा गोष्ठी लगायतका कार्यक्रमहरूको आयोजना गरी मनाइँदै आइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्