
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादी शक्तिको षड्यन्त्रलाई जनताले परास्त गरेको दाबी गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित तामाङ मुक्ति मोर्चाको बागमती प्रदेश प्रथम अधिवेशनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले माओवादी केन्द्रले गरेको जनप्रदर्शनले राजावादी शक्तिहरूको चलखेल र षड्यन्त्रमाथि ठूलो धक्का दिन सफल भएको जिकिर गरे ।
उनले प्रतिगामी शक्तिहरूले पुनः चलखेल गर्नसक्ने भएकाले फेरि आन्दोलन गर्नुपर्ने आवश्यकता हुनसक्ने बताए । उनले पार्टीमा आबद्ध विभिन्न जातीय तथा क्षेत्रीय सङ्गठनहरूलाई शक्ति सञ्चय गर्न आग्रह गरे । उनले यथास्थितिवादी र प्रतिगमनकारी शक्तिहरुलाई संसद, सडक तथा जनताको माझमा गएर माओवादी केन्द्रले खबरदारी गरिरहेको बताए ।
प्रतिगमनकारी शक्तिलाई परास्त गरी जनताको ठूलो त्यागबाट प्राप्त संघीय गणतन्त्रको रक्षा गर्ने जिम्मा आफूहरूकै भएको बताए । माओवादी केन्द्रले सञ्चालन गरेको गतिविधिबाट जनतामा आशा र भरोसा जगाएको उनको भनाइ छ ।
अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचनमा माओवादी केन्द्रलाई एक नम्बरको पार्टी बनाउने र समाजवादी क्रान्तिको आधार तयार पार्ने बताए । पार्टीलाई बलियो बनाउन आफू रातदिन विभिन्न अभियानमार्फत जनतासँग जुटेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्